काठमाडौं, भदौ २। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले हाल हमासद्वारा इजरायलमा बन्धक अवस्थामा रहेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित रिहाइका लागि सरकार सक्रिय भएको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यो पीडा केवल विपिनको परिवारको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा पीडा भएको उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्रालय खाडी क्षेत्रका नेपाली दूतावासमार्फत संवादमा जुटिरहेको जानकारी दिँदै बस्नेतले विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले समेत इजरायलका राष्ट्रपति र संसद् अध्यक्षसँग भेटेर अपिल गरिसक्नुभएको तथ्य प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि टर्की र इजिप्टका राष्ट्रपतिसँग फोन संवाद गरी यस विषयमा ध्यानाकर्षण गराइसक्नुभएको पनि उहाँले स्ट्याटसमा उल्लेख गर्नुभएको छ। ‘प्रधानमन्त्री ओलीज्यूको पहलमा सरकारले विपिनको शीघ्र रिहाइका लागि आन्तरिक–बाह्य सबै कूटनीतिक बाटो प्रयोग गर्दै अघि बढिरहेको छ, यो जिम्मेवारीपूर्ण कदमलाई हामी सबैले साथ र समर्थन दिनुपर्छ,’ बस्नेतले लेख्नुभएको छ।
उहाँले विपिनको सुरक्षित घर फिर्तीप्रति सबै नेपालीको प्रार्थना जोडिएको बताउँदै नेपालले फेरि एकपटक मानवीय एकताको जित देखाओस् भन्ने कामना व्यक्त गर्नुभएको छ। ‘हामी सबैको प्रार्थना एउटै हो : विपिन सुरक्षित घर फर्कुन् र नेपालले फेरि एकपटक मानवीय एकताको जित देखाओस्’, उहाँले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्