जनता टाइम्स

२ भाद्र २०८२, सोमबार १५:१७

चैत १५ मा मार्छन् भन्ने मैले अघिल्लो दिन सूचना पाएको थिएँ


काठमाडौं, २ भदौ । चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गर्नुभएको छ । उहाँ लामो समय थुनामा रहेर बाहिरिनु भएको थियो । बाहिरिएको १५ दिनमा सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
“अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,” उहाँले दाबी गर्दै भन्नुभयो । ‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईंले भनेका छन्, ‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’ त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले भन्नुभयो । मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ प्रसाईंले भन्नुभयो । त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताउनु भएको छ ।