जनता टाइम्स

२ भाद्र २०८२, सोमबार १७:००

संकटमा जेलेन्स्की : युक्रेनले क्रिमियामाथि दाबी छाडने र नेटोमा सामेल हुन नपाउने अमेरिकी राष्ट्रपति ट्रम्पको उर्दी


वासिङ्टन डिसी (अमेरिका), भदौ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुससँगको युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न आदेश दिनुभएको छ ।

ट्र्म्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्द अन्त्य गर्नका लागि जतिसक्दो छिटो सहमति गर्न दबाब दिनुभएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुकाले जनाएका छन । सोमबार ह्वाइट हाउसमा भेट हुनुपूर्व ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेनले क्रिमियामाथि दाबी छाडेर रुसलाई दिनुपर्ने र नेटोमा पनि सहभागि हुन नपाउने बताउनु भएको छ ।

‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन । याद गर्नुहोस यो कसरी सुरु भयो । ओबामाले १२ वर्षअघि एउटा गोली पनि नचलाई क्रिमिया दिए,’ राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेख्नुभएको छ ।

यस्तै युक्रेन नेटोमा सहभागी हुन नपाउने पनि ट्रम्पको चेतावनी छ । अल जजिराका अनुसार ट्रम्पले पुटिनको पक्ष लिँदै शान्ति सम्झौताका लागि दबाब दिएको देखिन्छ । पुटिनले गत शुक्रबार अलास्कामा भएको वार्तामा क्रिमियालगायतका भूभाग फिर्ता पाउनुपर्ने बताएपछि ट्रम्पले यस्तो दवाव दिनुभएको हो । त्यस्तै सोही वार्तामा पुटिनले युक्रेन नेटोमा सहभागी हुन नपाउने समेत सर्त राख्नुभएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की भने यस बिषयमा असहमती जनाउनु भएको छ । ट्रम्पले गत शुक्रबार पुटिनसँगको वार्ता सकिएपछि जेलेन्स्कीसँग सो प्रस्ताव गर्नुभएको तर जेलेन्स्कीले अस्वीकार गरेको समाचार एजेन्सीहरुले नजाएका छन ।