जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार ०९:२९

कर्णाली प्रदेश स्थापना दिवस अवसरमा सुर्खेतमा वृहत सरसफाइ अभियान


सुर्खेत, भदौ ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरसफाइलाई स्वस्थ जीवनसँग प्रत्यक्ष सम्बन्धित विषय बताउँदै यसप्रति सबैको सक्रिय सहभागिता आवश्यक हुनेमा जोड दिनुभएको छ ।

मंगलबार सुर्खेत उद्योग वाणिज्य सङ्घको आयोजनामा कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर गरिएको वृहत सरसफाइ कार्यक्रममा मुख्यमन्त्री कँडेलले सरकारले औपचारिक रुपमा प्रदेश स्थापना दिवस भदौ ४ गते मनाए पनि यस वर्ष तीन दिन विविध कार्यक्रममार्फत यसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

‘आफ्नो घर अगाडिको आँगन सफा राख्ने हो भने बाहिरबाट आउनेहरू पनि खुशी हुन्छन्, साथै फोहोरका कारण लाग्नसक्ने रोगबाट पनि बच्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘तर घरभित्रको फोहोर सडकमा थुपार्ने काम राम्रो होइन । सबैले फोहोरलाई व्यवस्थित रुपमा सङ्कलन गरी तोकिएको स्थानमै फाल्ने बानी बसाल्न जरुरी छ ।’

मुख्यमन्त्री कँडेलले सरसफाइलाई शहर मात्र नभई सम्पूर्ण प्रदेशलाई स्वस्थ राख्ने आधारका रुपमा लिने आवश्यकता औंल्याउँदै, सरसफाइ सचेतनालाई जीवनशैलीमै उतार्नुपर्नेमा जोड दिनुभयो ।

वृहत सरसफाइ कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष हर्ष विक्रम खड्का सहित स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।