जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार १६:५०

रामेछापमा गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, नागरिकलाई सहजता


रामेछाप, भदौ ३  । जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन अभियान सुरु गरेको छ ।

सोही अभियान अन्तर्गत सोमबारदेखि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकामा समेत बनेर आएका परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलनको काम सम्पन्न भइसकेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सो अभियान बिस्तारै सबै स्थानीय तहमा पुर्‍याइने जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रामेछाप नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा सो कार्यक्रम सम्पन्न भइसकेको छ । सो क्रममा ६४६ जनाको विवरण सङ्कलन गरिएको छ भने १४१ वटा बनेर आएका परिचयपत्र वितरण गरिएका छन् । अहिले रामेछापको ८ नं वडामा काम भइरहेका छ ।

यसै गरी सुनापति गाउँपालिकामा ५६७ जनाको विवरण सङ्कलन गरिएको छ । परिचयपत्र वितरणसँगै स्थानीय प्रशासन र प्रहरीले सचेतनामूलक कार्यक्रम पनि एकैसाथ सञ्चालन गरेको हुँदा नागरिकले दोहोरो लाभ उठाएको कार्यालयले जनाएको छ ।

स्थानीय तहमै पुगेर परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले विशेष गरी ग्रामीण बासिन्दा, ज्येष्ठ नागरिक र असक्तलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन र बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरू समेत जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था आएको थियो । त्यस्तो कठिनाइलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा गाउँमै पुर्‍याउने नीति लिएको हो ।

प्रमुख  जिल्ला अधिकारी थापाले सबै पालिकाका वडासम्म अभियान सञ्चालन गरिने बताउनुभयो । ‘अहिले रामेछाप नगरपालिका र गाेकुलगंगामा एक एक वटा टोली खटिएका छन्, त्यहाँ सकिएपछि अन्य पालिकामा पनि वडासम्म टोली पठाउँछौँ’, उहाँले भन्नुभयो ।

थापाले अन्य जिल्लामा यस्ताे कार्यक्रम नभएकाे भए पनि रामेछाप जिल्लामा स्थानीय आवश्यकतालाई ध्यनमा राखेर साे काम गरिएकाे प्रजिअ थापाले बताउनुभयाे ।