रामेछाप, भदौ ३ । रामेछापमा सार्वजनिक सेवा प्रदायक निकायले प्रवाह गर्ने सूचना अझै प्रभावकारी र व्यवस्थित हुन नसकेको सरोकारवालाले गुनासो गर्नुभएको छ ।
सूचना दिवसको अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको समन्वय तथा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनमा मंगलबार भएको कार्यालय प्रमुख, पत्रकार र नागरिक समाज बिचको अन्तरक्रियामा सहभागी पत्रकार तथा नागरिक अगुवाहरूले सेवा प्रदायक कार्यालयले नियमित प्रवाह गर्नै पर्ने सूचना पनि नियमित सार्वजनिक नगरेको गुनासो गर्नुभयो । कार्यक्रममा सहभागी नागरिक अगुवाले लोकतन्त्रको प्राणवायु नै सूचनाको हक भएकोले लोकतन्त्रलाई सुदृढ बनाउन सूचनामा सहज पहुँच स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्माण आयोजनाहरूमा आयोजना बोर्ड समेत नराखी काम हुने गरेको बताउँदै उनीहरूले यसले ती आयोजना कसको कति लागतमा कसरी बनाइरहेको छ भन्ने बारेमा समेत नागरिकलाई थाहा नहुने बताउनुभयो ।
सूचना जति लुकायो त्यति नै कौतुहलता बढ्ने र त्यसबाट अविश्वासको वातावरण बन्दै जाने बताउँदै उहाँहरूले कानुनी रूपमा पनि सूचना पाउनु नागरिकको अधिकार भएको तर्फे ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सूचना पाउनु नागरिकको अधिकार भएकाले कानुन अनुसार सूचना प्रवाह गर्न सरकारी कार्यालय र अन्य सेवा प्रदायक निकायलाई निर्देशन दिनुभयो । थापाले नागरिकले सूचना पाएनौँ भनेर गुनासो गर्ने गरेका बताउँदै यो असाध्यै नराम्रो भएको बताउनुभयो । । ‘नागरिकले सूचना पाएनौँ भनेर गुनासो गर्नुहुन्छ, यो असाध्यै राम्रो भएन’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्