जनता टाइम्स

४ भाद्र २०८२, बुधबार २१:०७

एमाले दोलखाको निर्णय : विधान संशोधनमा केन्द्रीय कमिटीको मस्यौदामा समर्थन


काठमाडौं, भदौ ४ । नेकपा एमाले दोलखाको सातौँ पूर्ण बैठक एमालेको विधान संशोधनको विषमा  छलफल सहित विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

मंगलबार जिल्ला कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षता र पार्टी पोलिटब्युरो सदस्य एवं दोलखा इञ्चार्ज पार्वत गुरुङको प्रमुख आतिथ्यता सम्पन्न बैठक नेकपा एमालेको आसन्न दोस्रो विधान महाधिवेशनमा केन्द्रित रहेको नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । बैठक अन्य समसामयिक विषयमा समेत छलफल गरी निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठक पछि बुधबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा बैठकमा भएका विभिन्न निर्णयका बारेमा पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी गराउनुभयो । पत्रकार सम्मेलन पार्टी पाेलिटब्युराे सदस्य एवं जिल्ला इञ्चार्ज पार्वत गुरुङकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

बैठकले पार्टी नेता वाग्मती प्रदेश कमिटीका सदस्य एवं दोलखाबाट निर्वाचित प्रदेश सांसद भरत बहादुर केसी वाग्मती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री पदमा नियुक्त हुनु भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । उहाँलाई सो भूमिका निर्वाह गर्ने अवसर दिने नेकपा एमाले केन्द्रीय कमिटी, वाग्मती प्रदेश कमिटी, प्रदेश संसदीय दल लगायत सहयोग गर्ने सबै प्रति बैठकले धन्यवाद व्यक्त गरेको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको अपानी १२ ले निर्देशित गरेको अधा प्रस्तावित मस्यौदा माथि छलफल गर्दा सो मस्यौदा प्रति जिल्ला कमिटी दोलखाले सर्वसहमतीकासाथ पूर्ण समर्थन जनाएको छ । सो अनुसारको विधान तर्जुमा गरी पार्टी सञ्चालन हुँदा पार्टी मुलुकको निर्णायक शक्ति बन्न कसैले रोक्न नसक्ने प्रक्षेपण बैठकले गरेको छ ।

बैठकले पार्टीको विधानमा उमेर तथा कार्यकालको सीमा लगाइनु नहुने र सम्माननीय पूर्वराष्ट्रपति पुन दल विशेष राजनीतिमा फर्कन नहुने सर्वसहमत निर्णय गरी पार्टी केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय यस अघि गरिसकेको स्मरण गराउँदै जसलाई केन्द्रिय कमिटीको बैठकले समेत सम्बोधन गरेकाले जिल्ला कमिटीको निर्णय दूरदर्शी रहेको पुष्टि भएको जनाएको छ ।

प्रस्तावित मस्यौदामा अत्यधिक चर्चामा ल्याइएको उमेरको हद र कार्यकाल सम्बन्धी प्रावधान लगाउन नहुने पार्टी केन्द्रको व्याख्या उपयुक्त रहेको निष्कर्ष सातौँ बैठकले गरेको छ । ‘कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने, अध्येता, दृष्टिकोण सहितको योजना अनि कुशलतापूर्वक कार्यान्वयन गर्ने सामर्थ्य बोक्ने, अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउन सक्ने हैसियत प्रधान हुने तर उमेरको कुनै महत्त्व नहुने हुँदा उमेरको हद हटाउने, परिस्थितिजन्य अवस्थामा र कार्यकुशलता सहितको क्षमता रहँदा निश्चित कार्यकाल तोकिनु पनि सान्दर्भिक नहुने निष्कर्ष यो बैठकले निकालेको छ’, बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमालेको पार्टी संरचनाहरू मध्ये जिल्ला कमिटीलाई समन्वयकारी बनाउने पनि चर्चा चलेको सन्दर्भमा जिल्ला स्तरीय कार्यालयहरू बिच सहकार्य गर्न समेत जिल्ला कमिटी कार्यकारी भूमिकामा नै आवश्यक हुने निष्कर्ष बैठकले निकालेको छ ।

हरेक तहका कमिटीमा पदाधिकारीमा महिलाको निम्ति निश्चित पद सहित कम्तीमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्वको सुनिश्चित हुने व्यवस्था विधानमा समावेश हुनु पर्ने बैठकको सुझाव छ । त्यसै गरी हरेक संरचनामा भूगोल जातजाति, अपाङ्गता भएकाहरूको समेत प्रतिनिधित्व हुने व्यवस्था रहनु पर्ने माग बैठकले गरेको छ ।

पार्टीले विगतदेखि नै समृद्ध दोलखा, सुखी दोलखाली अवधारणा अगाडी बढाएको उल्लेख गदै सोही अनुसार हरेक पार्टी सदस्यहरू उत्पादनमा आधारित व्यवसायमा जोडिनु पर्ने कुरामा बैठकले जोड दिएको छ । पार्टी विधानमा नै सो विषय उल्लेख गरी समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि राष्ट्रिय माहौल तयार गर्न बैठकले सुझाव दिएको छ ।

सम्पर्क समन्वय तथा मञ्च अन्तर्गतका पार्टी कामहरू भूगोल केन्द्रित हुने तर भूगोल कमिटीहरूसँग प्रत्यक्ष तथा सहकार्य समेत नदेखिएको हुँदा तहगत भूगोल कमिटी मातहतमा मञ्च अन्तर्गतका संरचनाहरू क्रियाशील हुने व्यवस्था विधानमा राख्न बैठकले सुझाव दिएको छ ।

कमिटी अन्तर्गत जनप्रतिनिधि भन्ने मान्यतालाई व्यवहारिक प्रयोग गर्न र निर्वाचनको प्रक्रियामा कमिटीलाई जिम्मेवार समेत बनाउनको लागि तोकिएको प्रक्रिया अनुसार उम्मेदवार सम्बन्धित कमिटीबाट छनोट गर्ने व्यवस्था पार्टी विधानमा व्यवस्था गरिनु पर्ने सुझाव बैठकले दिएको छ ।

नेकपा एमालेको जुनसुकै तहको नेता भए पनि पार्टी सदस्यको अभिलेख र नवीकरण सम्बन्धित भूगोल कमिटी अर्थात् स्थानीय कमिटी अन्तर्गत राखिनु पर्ने सुझाव छ । यस व्यवस्थाले स्थानीय कमिटीको महत्त्व बढ्ने र पार्टी निर्माणमा सहयोग पुग्ने पार्टी कमिटीको निष्कर्ष छ । साथै पार्टी सङ्गठित सदस्य नवीकरण वार्षिक शुल्क एक सय कायम गर्ने र सोको बाँडफाँडमा सबै तहमा २० प्रतिशतका दरले गर्ने व्यवस्था गर्न बैठकले सुझाव दिएको छ ।

पार्टीको कुनै औपचारिक कार्यक्रममा राष्ट्रिय गान सँगसँगै पार्टी गान पनि आवश्यकता रहेको सुझाव बैठकले दिएको छ ।

जिल्लामा नेकपा एमालेबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने पद्धति विकास गरी सबै जनप्रतिनिधिहरूको मूल्याङ्कन गर्ने परिपाटी मिलाउन सुझाव दिइएको छ ।  ।

बैठकले दोलखा जिल्लामा रहेका सेवा प्रदायक निकायहरू समेतमा विभिन्न अनियमितता, बेथिति बढेको चर्चा सुनिएको उल्लेख गर्दै सो हुन नदिन र कारबाहीको दायरामा ल्याई भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारिक प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै भ्रष्टाचार विरुद्ध नेकपा एमाले जिल्ला कमिटीले अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ ।