जनता टाइम्स

४ भाद्र २०८२, बुधबार २२:०३

नयाँ पुस्ताले तीजको मौलिक संस्कृति संरक्षण गर्नुपर्छ : पद्मा अर्याल


काठमाडौँ, भदाै ४ । नेकपा एमालेका सचिव पद्ममा अर्यालले नयाँ पुस्ताले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको संरक्षण गर्ने तरिकाले मनाउनुपर्ने बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा अर्यालले हिजोको पुस्ताले तीज पर्वलाई विभेदको पर्खाल तोड्ने अस्त्रको रूपमा प्रयोग गरेको र अहिलेको पुस्ताले यसको मौलिकपनको संरक्षण गर्दै मनाउनुपर्ने बताउनुभयो। ‘हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्नका लागि तीज पर्व मनायो,’ पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले भन्नुभयो, ‘नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ।’

सचिव अर्यालले तीज पर्व पहिलाको घरमा पाएका पीडा र वेदनालाई मित्रसँग गीतमार्फत व्यक्त गर्ने माध्यमका रूपमा विकास भएको र त्यसकारण यो आँशु, खुशी र इतिकासको पर्व भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेकपा एमाले प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीज पर्व दिदीवहिनी र साथीहरुसँग भेटघाट गरी दुःखसुख साट्ने पर्वको रूपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले यस पर्वलाई व्यवसायिक पत्रकारिताको विषयमा छलफल गर्ने र आपसमा दुःखसुख साट्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधैँ काममा व्यस्त रहने महिला पत्रकारहरुले एकदिन भएपनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यमका रूपमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वको अवसरमा छलफल गर्न सकिने र भेटघाट, खुशी तथा उत्साहका रूपमा तीज पर्व मनाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।