काठमाडौं, ५ भदौ । इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने र त्यसलाई नियन्त्रणमा लिने योजनासहितको स्थलगत आक्रमणका लागि प्रारम्भिक कार्यहरू सुरु गरेको बताएको छ । सेनाले सहरको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ ।सैनिकहरूले आक्रमणको तयारीका लागि जेइटाउन र जबालिया क्षेत्रहरूमा काम गरिरहेका सैन्य प्रवक्ताले बताएका छन् । रक्षा मन्त्री इजरायल काट्जले मंगलबार यस योजनालाई अनुमोदन गरेका थिए ।
यो हप्ताको अन्त्यमा सुरक्षा योजना मन्त्रिपरिषद्मा पेस गरिनेछ ।सेप्टेम्बरको सुरुमा यस अभियानका लागि करिब ६० हजार रिजर्भ सैनिकहरूलाई बोलाइएको छ, जसले नियमित सैनिकहरूलाई फुर्सद दिने बताइएको छ ।समाचार संस्था रोयटर्सका अनुसार, हमासले युद्धविराम सम्झौतामा अवरोध पुर्याए निर्दोष नागरिकहरूमाथि युद्ध जारी राखेको आरोप इजरायलमाथि लगाएको छ ।
इजरायलको कब्जा योजनाको तयारी सुरु भएसँगै गाजा सिटीमा रहेका लाखौँ प्यालेस्टाइनीहरूलाई दक्षिणी गाजाका आश्रयस्थलहरूमा जानका लागि स्थानान्तरणको आदेश दिइने अपेक्षा गरिएको छ ।इजरायलका धेरै सहयोगीहरूले यो योजनाको निन्दा गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले बुधबार यो कदमले दुवै जनताका लागि विपत्ति मात्र निम्त्याउने र सम्पूर्ण क्षेत्रलाई स्थायी युद्धको चक्रमा धकेल्ने जोखिम भएको चेतावनी दिएका छन् ।अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजाको २१ लाख जनसंख्याका लागि थप विस्थापन र युद्धले पहिल्यै भयावह अवस्थालाई झन् खराब बनाउने जोखिम रहेको बताएको छ ।
गत महिना हमाससँगको युद्धविराम र बन्धक रिहाइ सम्झौताबारेको अप्रत्यक्ष वार्ता भंग भएपछि इजरायल सरकारले सम्पूर्ण गाजा स्ट्रिप कब्जा गर्ने आफ्नो उद्देश्य घोषणा गरेको थियो ।बुधबार टेलिभिजन ब्रिफिङमा बोल्दै इजरायल डिफेन्स फोर्सेसका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले २२ महिनाको युद्धपछि हमास थकित र तितरवितर भएको बताए ।
तर, डेफ्रिनले इजरायली सेनाले यो अभियान सुरु गर्न पर्खिरहेको छैन भन्दै भने, “हामीले प्रारम्भिक कार्यहरू सुरु गरिसकेका छौँ । अहिले नै सैनिकहरूले गाजा सिटीको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।”उनले जेइटाउन छिमेकमा दुई ब्रिगेडहरूले काम गरिरहेको जानकारी दिए । त्यहाँ हालैका दिनहरूमा उनीहरूले हतियारहरू भएको भूमिगत सुरुङ फेला पारेका थिए । तेस्रो ब्रिगेड जबालिया क्षेत्रमा कार्यरत रहेको पनि उनले प्रष्ट पारे ।
उनले नागरिकहरूमा क्षति कम गर्न गाजा सिटीको नागरिक जनसंख्यालाई उनीहरूको सुरक्षाका लागि स्थानान्तरणको चेतावनी दिइने बताए । गाजाको हमास संचालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बास्सलले मंगलबार एएफपी समाचार एजेन्सीलाई सहरको जेइटाउन र साब्रा छिमेकहरूमा अवस्था धेरै खतरनाक र असह्यीय रहेको बताएका छन् । बीबीसी













प्रतिक्रिया दिनुहोस्