जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार ०९:३९

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनीकाे प्रतिवद्धता


रामेछाप, भदौ ५ । रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेप्नुपरेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएकाे छ।

पुरानो संरचना भत्काएर लथालिङ्ग पारिदिँदा रामेछाप र ओखलढुङ्गाको लिखु किनार हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो। अवस्था गम्भीर बनेपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, सडक आयोजना कार्यालय, निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाबीच बैठक बसेको हो। उक्त बैठकमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो। यसअघि बुधबार सरोकारवालाले सो सडकको स्थलगत अनुगमन समेत गर्नुभएको थियो।

अनुगमनका क्रममा तत्काल अन्य काम गर्न नसके पनि नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको थियो। प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले समेत स्काभेटरलगायत मेसिन राखेर भए पनि सडक नियमित सञ्चालन गर्न आग्रह गर्नुभएको थियो।

अनुगमनपछि बसेको बैठकमा सडक स्तरोन्नतीको प्रगति, हालको अवस्था र समस्या समाधानका उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। वर्षायाममा सडक हिलो भएर यात्रुवाहक बससहित अन्य सवारी साधन घण्टौँसम्म बाटोमै रोकिनुपर्ने, यातायात सञ्चालनमा कठिनाइ हुने र आसपासका बस्तीहरू जोखिममा पर्ने अवस्थाबारे बैठकमा सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो।

बैठकले सडक अवरुद्ध हुने स्थान तथा जोखिमपूर्ण भागमा तत्काल मर्मत कार्य गर्न योजना कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाबीच समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेको छ। यस्तै, स्तरोन्नती कार्यमा कुनै अवरोध हुन नदिने, शान्ति सुरक्षा सम्बन्धी विषयमा निर्माण कम्पनी र आयोजना व्यवस्थापनले सुरक्षा निकायसँग सहकार्य गर्ने र कार्यलाई गुणस्तरीय रूपमा अघि बढाउने निर्णय समेत बैठकमा भएको छ।

निर्माण कम्पनीले तोकिएको मापदण्डअनुसार गुणस्तर कायम गरी २०७९/८० मा स्वीकृत संशोधित समयसीमा अनुसार २०८३ असार ९ भित्र सडक स्तरोन्नती कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ। ढिलाइका कारण हाल वर्षायाममा यात्रुवाहकसहितका सवारी साधन घण्टौँसम्म अलपत्र पर्नु परेको, जोखिमपूर्ण अवस्थामा यातायात सञ्चालन हुँदा जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको बैठकमा सरोकारवालाले उल्लेख गर्नुभएको थियो। यस्तो अवस्था दोहोरिन नदिन सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ।

भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको हो। सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने शर्तमा सम्झौता गरिएको थियो। सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थपिएको छ।

निर्माण कम्पनी टीसीआईएलका प्रतिनिधि डी.सी. शर्माले तत्काल यातायात सञ्चालनमा देखिएको समस्या समाधान गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने गरी कार्य अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ।