काठमाडाैं, भदाै ५ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बुढानीलकण्ठ पुगेका छन् ।
सत्ता साझेदार दल कांग्रेस र एमालेबिच प्रदेश सरकार सञ्चालनका विषयमा मतभेद भइरहेको बेला बिहीबार भएको उक्त भेटलाई कर्णालीको राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ । ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बुढानीलकण्ठमा भेटघाट भयो, भेटमा समसामयिक राजनीति, कर्णाली प्रदेश सरकारको काम–कारबाही, विकास, समृद्धि र सुशासनका विषयमा छलफल भयो, महत्त्वपूर्ण सुझाव र मार्गदर्शनका लागि सभापति एवम् पूर्वप्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु’, मुख्यमन्त्री कँडेलले भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेशमा कांग्रेस र एमालेको गठबन्धनमा बनेको सरकार एक वर्ष पुरा भइसकेको छ । तर, यी दुई दलबिचको सम्बन्ध अझै स्थिर हुन सकेको छैन ।
केही समयअघि एमाले संसदीय दलको बैठकले कांग्रेसलाई गठबन्धनको मर्मअनुसार नचलेको आरोप लगाएको थियो । त्यसपछि उत्पन्न विवाद मिलाउन प्रदेशस्तरीय संयन्त्रको बैठक बसेर सरकारको काम–कारबाहीलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने सहमति भएको थियो । त्यसपछि तत्काललाई सत्ता सङ्कट टरेको थियो ।













प्रतिक्रिया दिनुहोस्