जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार ११:१६

मन्थलीमा लरी दुर्घटना, चालक घाइते 


रामेछाप, भदौ ६  । सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ।

दुर्घटनामा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो।

लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत वर्ष असोज १२ गतेको भीषण वर्षासँगै आएको बाढीले खुर्कोटस्थित सुनकोशी मोटरेवल पुल बगाएपछि त्यहाँ पुनर्निर्मित बेलिब्रिजमा १५ टनभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जसले गर्दा आयोजनास्थलसम्म आवश्यक निर्माण सामग्री पुर्‍याउन ठूला मालवाहक सवारी साधनलाई सिन्धुली र रामेछापको संगमस्थल सित्खा पुल तरेर मन्थली हुँदै गन्तव्यसम्म पुग्ने गर्दछन् ।

साघुराे सडकमा ठूला सवारी साधन गुड्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ। स्थानीयहरूका अनुसार, ठूला मालवाहक सवारीका कारण सित्खा–गोगनपानी–मन्थली सडकखण्डको पिच समेत उक्किन थालेको छ, जसले यात्रु र सडक प्रयोगकर्तामा थप समस्या सिर्जना भएकाे छ ।