काठमाडौं, भदौ ६। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत–चीनबिच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने भारत र चीनको सहमतिका विषयलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सो भूभाग नेपालको अभिन्न अङ्ग भएको स्मरण गराउँदै सरकारले यसप्रति विशेष चासो दिनुपर्ने बताउनुभयो। सांसद खतिवडाले भन्नुभयो, ‘अहिले भर्खरै फेरि चर्चामा आएको छ, लिपुलेक, लिम्पियाधुरा र कालापानी हुँदै भारत–चीनबिच भएको व्यापारिक सम्झौताको विषय, यो नेपालको सार्वभौमिकता र भू–अखण्डतासँग जोडिएको संवेदनशील विषय भएकाले सरकारले यसलाई छिटोभन्दा छिटो कूटनीतिक पहलद्वारा समाधान गर्न जरुरी छ।’
प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवै मुलुकको भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा उहाँले भ्रमणको अवसरलाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई नेपालको स्पष्ट धारणा प्रस्तुत गर्दै समस्या समाधानतर्फ ठोस पहल गर्न अनुरोध गर्नुभयो। ‘प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जान लाग्नुभएको छ, त्यसपछि भारतको पनि भ्रमण हुँदै छ, यस्तो अवसरमा सरकार प्रमुखको हैसियतमा उहाँले दुवै मुलुकका प्रधानमन्त्रीहरूसँग नेपालको अडान प्रस्ट्याएर गम्भीरतापूर्वक कुरा गर्नुपर्छ,’ सांसद खतिवडाले भन्नुभयो।
यस्तो संवेदनशील विषयमा सम्पूर्ण नेपालीहरू पार्टी, जात वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितको पक्षमा एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। ‘यस्तो बेलामा हामी सम्पूर्ण नेपालीहरू कुनै पार्टीको, कुनै जातिको नभई सम्पूर्ण राष्ट्रको हैसियतमा आफ्नो स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्छ र यस्तो संवेदनशील विषयमा सरकारलाई दृढतापूर्वक साथ दिनुपर्दछ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्