जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार १७:४५

दोलखामा अनेमसंघको तीज विशेष कार्यक्रम


रामेछाप, भदौ ६ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाको आयोजनामा ‘हरितालिका तीज २०८२’ को सन्दर्भमा तीज विशेष कार्यक्रम तथा बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री माननीय भरतबहादुर केसीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

महिलाहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रम नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।  कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य उर्मिला थामी, शान्ति कुमारी तामाङ, नेकपा एमाले सल्लाहकार परिषद् सदस्य डवल पाण्डे, बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजु, डा. जानुका न्यौपाने, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ,उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव सोयमबहादुर खड्का, उपसचिवहरू कमला बस्नेत र हरि ओली, मदन भण्डारी फाउन्डेसन दोलखाका संयोजक कृष्ण बस्नेत, पार्टी सचिवालय सदस्य, जिल्ला कमिटीका पदाधिकारी, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकर, उपाध्यक्ष गायत्री आचार्य, पार्वती कार्की, देविका थामी, उमा लुङ्गेली मगरसहितका जनप्रतिनिधि र विभिन्न जनसंगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा नाचगान गरेर रमाइलो गर्नुको साथै तिजकाे दर खाइएको थियो ।

महिलाहरूले आफ्नो परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै मनाइने तीज पर्व अहिले टोल–समाज र विभिन्न संघ–सङ्गठनहरूले समेत विशेष कार्यक्रममार्फत मनाउने परम्परा बस्दै गएको छ। यसलाई मनोरञ्जन मात्र नभई सामाजिक सद्भाव, आपसी समझदारी, भाइचारा र एकतालाई प्रोत्साहन गर्ने थलोका रूपमा लिने गरिन्छ।