काठमाडौं, भदाै ७। नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर नेतृत्वमा बन्देज गर्न नहुने बताउनुभएको छ ।
अनेरास्ववियु महिला विभागको आयोजनामा शनिबार भएको तीज विशेष कार्यक्रममा बोल्दै उहाँले आगामी भदौ १९ गतेदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनले यस विषयमा अन्तिम निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘साउन ६ गते सकिएको केन्द्रीय कमिटी बैठकले पार्टीमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाइसकेको छ, अब विधान महाधिवेशनले यसलाई अनुमोदन गर्नेछ ।’
ढकालका अनुसार देशको आवश्यकता, पार्टीको आवश्यकता र व्यक्तिको क्षमतालाई उमेरको बन्देज लगाएर रोक्नु गलत हो । ‘७० वर्षे उमेर हद खुलाउँदा त्यसभन्दा मुनीको उमेर समूहले प्रतिस्पर्धा गर्न नपाउने भन्ने होइन, आत्मविश्वास र जनमत छ जस्तो लाग्छ भने सबैले प्रतिस्पर्धा गर्न सक्छन्’, उहाँले भन्नुभयाे ।
उहाँले विगतका राजनीतिक प्रसङ्ग स्मरण गर्दै माओवादीसँग एकता गरेर नेकपा बनाउँदा वा पछि एमालेबिनाको नेपाल र केपी ओलीबिनाको एमाले बनाउन प्रयास गर्नेहरू गलत मनसायका भएका बताउनुभयाे। ‘यस्तो धारणा राख्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित थिए, उनीहरू पार्टीको हितभन्दा व्यक्तिगत हित चाहन्थे, उनीहरूको चाहना पूरा भएन र हुने पनि छैन,’ ढकालले भन्नुभयो ।
ढकालले अनेरास्ववियु संगठनका विषयमा निर्णय गर्न संगठन स्वयं स्वतन्त्र भएको भन्दै केही ठाउँमा देखिएका विवाद समाधानका लागि संवाद भइरहेको जानकारी दिनुभयो । गण्डकीसहितका केही क्षेत्रमा असन्तुष्टि देखिएको विषयमा आफू सचेत रहेको बताउँदै उहाँले पार्टीले युवाहरूको नेतृत्व विकासका लागि अखिलमा ३२ वर्षे उमेर हद कायम गरेको स्पष्ट पार्नुभयो ।
‘संगठनको हित हुने कुरा तपाईँहरूले छलफल गर्नुहोस्, कतिपय कुरा हामीले भनेका भन्दा तपाईँहरूले भनेकै सान्दर्भिक हुन सक्छन्, यस्ता जायज कुरामा पार्टीले हस्तक्षेप गर्दैन,’ ढकालले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्