जनता टाइम्स

७ भाद्र २०८२, शनिबार १८:१८

प्रेस चौतारी रामेछापद्वारा महिला आन्दोलन र हरितालिका तीज विषयक अन्तरक्रिया 


रामेछाप, भदौ ७ । प्रेस चौतारी नेपाल रामेछापले महिला आन्दोलन र हरितालिका तीज विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा महिला अधिकार, लैङ्गिक समानता र सामाजिक चेतनाबारे छलफल भएको थियो । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता र नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले तिजलाई सामाजिक सचेतनको पर्वको रूपमा लैजानु पर्ने बताउनुभयो । तिजमा हुने खर्चलाई भने कटौती गर्न आवश्यक रहेकोमा उहाँले जोडा दिनुभयो ।

कार्यक्रममा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्की, उपसचिव मिलन कुमार घिसिङ, मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल वाग्मती प्रदेश सचिव नवराज श्रेष्ठ, एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठ, प्रेस चौतारी रामेछापका पार्टी इन्चार्ज मदन खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले हरितालिका तीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै यस पर्वलाई महिला अधिकार र सामाजिक आन्दोलनसँग जोडेर बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले तीजलाई केवल उत्सव र रमझमको रूपमा मात्र नभई महिलाको स्वतन्त्रता, आत्मसम्मान र लैङ्गिक समानतासँग सम्बन्धित विषयमा अभिव्यक्ति दिने अवसरको रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीहरूले अन्तरक्रियासँगै तीज विशेष गीतमा नाचगान गर्दै रमाइलो पनि गरेका थिए । आयोजकले यस किसिमका कार्यक्रमले पत्रकार, महिला अगुवा तथा सामाजिक अभियन्ताबिच संवादको वातावरण निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।