जनता टाइम्स

७ भाद्र २०८२, शनिबार २०:५४

बैतडीमा पहिरोले एक घर पुरियो


काठमाडौं, ७ भदौ । बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ ।अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति भएको छैन ।
पहिरोका कारण बोहराको गोठमा बाँधिएको एउटा भैसी, एउटा पाडो र एउटा बाख्रो पुरिएका प्रहरी निरीक्षक बडुले बताउनुभयो। उहाँका अनुसार घरभित्रका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री नष्ट भएका छन् । अहिले घटनास्थलमा खटिएको प्रहरीको टोली र स्थानीयले पहिरो पन्छ्याउने कार्य गरिरहेका छन् । पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभयो घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसिरहेका छन् ।