रामेछाप, भदौ ८ । नेपाली हिन्दु नारीहरूको महान् पर्वका रूपमा सुरु भएको तिज अहिले सबै नेपाली नारी र पुरुषको समेत साझा पर्वका रूपमा विकसित हुँदै गएको छ ।
विगतमा विवाहित छोरीचेलीहरू माइत जाने, दर खाने, दुःख–सुख साट्ने र दिदी–बहिनी तथा माइतीबीचको आत्मीयता बढाउने अवसरका रूपमा मनाइने तिज आज युग र चेतनासँगै बदलिएको देखिन्छ । परम्परागत रूपमा तिज अघिल्लो दिन मात्रै खाने दर अहिले भने १५ दिनअघि नै विभिन्न सार्वजनिक कार्यक्रममार्फत खाने चलन व्यापक बनेको छ ।
यस वर्ष रामेछापमा तिजको दर खाने कार्यक्रम राजनीतिक दलका भातृ तथा जनसंगठनदेखि सामाजिक, व्यावसायिक, शैक्षिक र वित्तीय संस्थासम्मले आयोजना गरेका छन् । पत्रकारदेखि शिक्षकसम्म, व्यापारीदेखि कर्मचारीसम्म र विद्यार्थीदेखि योग–ध्यान गराउने संस्थासम्मले तिजका कार्यक्रम राख्दा महिलासँगै पुरुषहरूको समेत उत्साहजनक सहभागिता देखिएको छ ।
गैरसरकारी सामाजिक संस्थामात्र नभई सरकारी तहबाट समेत औपचारिक रूपमा दर खाने कार्यक्रम आयोजना भएका छन् । खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका लगायतका स्थानीय तहहरूले सार्वजनिक सूचना जारी गर्दै सांस्कृतिक प्रतियोगितासहित दर खाने कार्यक्रम गरेका छन् । यस्तै, अन्य स्थानीय तहहरूले पनि आ–आफ्नो ढंगले तिजका कार्यक्रम आयोजना गरेका छन् ।

यसरी तिज अहिले कुनै धर्म वा लिङ्ग विशेषमा मात्र सीमित नरही सबै जाति, धर्म र लिङ्गको साझा पर्व बनेको देखिन्छ । तर, यसबीच तिजको मौलिकता भने हराउँदै गएको नागरिक अगुवाहरूको भनाइ छ ।
सामाजिक अभियन्ता मिलनकुमार घिसिङका अनुसार तिजको पवित्र भावना बिस्तारै ओझेलमा पर्न थालेको छ । उहाँले तिजलाई लैङ्गिक समानता र महिला सशक्तीकरणसँग जोडेर नयाँ र सकारात्मक दिशा दिनुपर्ने सुझाव दिनुभयो ।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले पनि तिजको मौलिक संस्कृतिमा विकृति आएको बताउँदै मौलिकता जोगाएर यसलाई सबैको साझा पर्व बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले यसका लागि स्थानीय सरकार स्वयं सक्रिय भएर सहयोग गर्ने आश्वासन दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्