जनता टाइम्स

९ भदौ २०८२, सोमबार १४:१३

पार्टी विरुद्ध नकारात्मक प्रचार गर्ने छुट कसैलाई छैन, अनुशासनहीनतालाई छुट दिन सकिँदैन


काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र निराशा छर्ने अभिव्यक्ति सह्य नहुने बताउनुभएको छ ।

सोमबार आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टीबारे ‘पार लाग्दैन’, ‘सफल हुँदैन’ भन्ने प्रचार गर्ने छुट कसैलाई नभएको प्रस्ट पार्नुभयो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई सानो पार्टी भन्ने वा यसको भविष्य छैन भन्ने अभिव्यक्ति नै पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जे गर्नुपर्छ आफ्नै भित्र गर्नुपर्छ, अनुशासनहीनतालाई छुट दिन सकिँदैन, ज-जसले अनुशासनहीन काम गर्छ भने छुट दिन सकिँदैन, पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन, पार्टीको पक्षमा दृढताका साथ बोल्नुस्’, उहाँले भन्नुभयो ।’

उहाँले पार्टीबारे नकारात्मक सन्देश दिने, त्यसलाई सामाजिक सञ्जालमा समर्थन गर्ने कार्यलाई पनि अनुशासन विपरीत भएको भन्दै कारबाही गरिने चेतावनी दिनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले हालै ‘एमाले विभाजनको पुष्टि गर्न नसकेको’ अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल उहाँप्रति आक्रोशित हुँदै आउनुभएको छ । खनालप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पार्टीविरुद्धको गतिविधि सह्य नहुने चेतावनीसमेत दिनुभएको हो ।