जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार १४:४५

तिजले महिलामा उत्साह, समता र आत्मसम्मानको सन्देश दिन्छ : मुख्यमन्त्री कार्की


विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तिजले महिलामा उत्साह, उमङ्गसहित समता र आत्मसम्मानको सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ ।

तिजको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले भाद्र शुक्ल तृतीयामा पर्ने यो पर्व केवल धार्मिक एवम् सांस्कृतिक मात्र नभई महिलाको अधिकार र सशक्तीकरणसँग पनि सम्बन्धित भएको बताउनुभयो । ‘नेपाली महिलाहरूले सदियौँदेखि मनाउँदै आएको मौलिक पर्व तिजले महिलामा उत्साह र उमङ्ग ल्याउने विश्वास लिएको छु,’ उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले तिजमा शिव–पार्वतीको पूजा आराधना गर्ने र उपवास बस्ने धार्मिक परम्परा परिवारको सुख, सुस्वास्थ्य र समृद्धिका लागि महिलाले गरेको आस्था र श्रद्धाको प्रतीक भएको बताउनुभयो । उहाँका अनुसार तिजले पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक समरसतालाई अझ मजबुत बनाउँदै लैङ्गिक समानता र नारी सशक्तीकरणतर्फ समाजलाई उन्मुख गराउने अवसर दिएको छ ।

‘तिजलाई रमाइलोसँग मनाउँदै स्वास्थ्य, शान्ति र सौहार्दता कायम गर्दै लैङ्गिक समानता र सशक्तीकरणका पक्षमा अगाडि बढाउन सकियो भने यसले समाजमा सकारात्मक सन्देश दिन्छ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

प्रदेश सरकारले नागरिकको हक, अधिकार र हित प्रवर्धनमा सदैव तत्पर रहेको दोहोर्‍याउँदै उहाँले महिलाको अधिकार र सम्मानको अभिवृद्धि गर्न सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

उहाँले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुकका सबै पर्व र संस्कारको महत्त्व आत्मसात् गर्दै सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।