जनकपुरधाम, १० भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।
शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हात बाँधेर कुटपिट गरिरहेको भिडियो नै बाहिरिएको छ । उहाँ स्मार्ट कोचिङका शिक्षक हुनुहुन्छ। घटना गत २८ साउनको हो । केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ । ‘केही व्यक्तिले मलाई वडाध्यक्षले बोलाइरहेको भनेर समात्न आए ।
कलर समातेर लगेपछि वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएरभित्र बस्न भने । भित्र लगेर अर्धनग्न बनाए, हातखुट्टा बाँधे । ३/४ लात खुट्टाले हाने । त्यसपछि कुटपिट गरिरहे,’ उहाँले आफूमाथि भएको घटनाको वृतान्त सुनाउनुभयो । उनाँका अनुसार वडाध्यक्ष कुशवाहा मादक पदार्थ सेवन गरेका थिए । त्यस बखत ८ जना बसेर रक्सी खाँदै आफूमाथि कुटपिट गरेका थिए । वडाध्यक्ष कुशवाहाले सादा कागजातमा जबजरजस्ती औंठाछाप र हस्ताक्षर गराएको, मारेर फाल्नसम्मको धम्की दिएको उहाँले बताउनुभयो। घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिनुभएको थियो । जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले प्रहरीमा पीडिले जाहेरी दिए लगतै वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउनुभयो । कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । घटना बाहिरिएपछि माओवादीले उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्