दोलखा, भदाै ११। दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको निधन भएको छ ।
भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहालको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बस्ननेत गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका स्ववियु सभापति हुनुहुन्थ्याे । दाहाल चरिकोटस्थित एक होटलमा सवारी चालकका रूपमा कार्यरत रहनु भएको थियो ।
प्रहरीका अनुसार राति करिब ९ बजे दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि च्छोरोल्पा अस्पताल, चरिकोट लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ ।
काठमाडौँबाट चरिकोटतर्फ आउँदै गरेका बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल लामोसाँघु–जिरी सडक खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । सो दुर्घटनामा मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस्