जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार १९:३५

वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक : प्रवक्ता नियुक्तदेखि १३ जिल्लालाई सहयोगसम्मका निर्णय


हेटौँडा, भदाै १२ । वाग्मती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले सरकारका प्रवक्ता ताेक्नुकाे साथै सचिवहरुकाे पदस्थापना, अस्थायी दरबन्दी स्विकृती तथा, जिल्ला समन्वय समितिहरुलाई सहयाेग गर्ने लगायतका निर्णय गरेकाे छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । यसअघि सरकार अपूर्ण अवस्थामा रहँदा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको भूमिकामा हुनुहुन्थ्याे ।

प्रवक्ता तामाङले पत्रकारलाई जानकारी दिँदै ६ जना सचिवहरूको पदस्थापन गर्ने निर्णय भएको बताए । निर्णयअनुसार ईश्वरचन्द्र मरहठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्द्रदेव भट्ट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा, वीरेन्द्रदेव भारती युवा तथा खेलकुद विकास मन्त्रालयमा, बलराम ढकाल श्रम, रोजगार तथा यातायात मन्त्रालयमा, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालयमा र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयमा सचिव पदस्थापन हुनुभएकाे छ ।

सोही बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसबाहेक, चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न मन्त्रालय अन्तर्गत आवश्यक अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा दरबन्दी तोकिएको छ भने संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत आयोजना सञ्चालनका लागि अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृति दिइएको छ ।

बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रम अन्तर्गत १३ जिल्लाका जिल्ला समन्वय समितिलाई ४०–४० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने बजेट अख्तियारी दिने निर्णय पनि गरेको छ ।