जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १०:५९

गम्भीर बिरामी बालिकाकाको उपचारका लागि गोठगाउँ सरोकार  समाजद्वारा८५ हजार रुपैयाँ सहयोग


काठमाडौं, भदौ १४ । रामेछापको रामेछाप नगरपालिका–१ गोठगाउँका मोहनबहादुर कठायत र रमा कठायतकी ११ महिनाकी छोरी एलिसा कठायतलाई गोठगाउँ सरोकार समाजले ८५ हजार २ सय ७० रुपैयाँ सहयोग गरेको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकी बालिकाका लागि सङ्कलित रकम समाजका अध्यक्ष सञ्जयकुमार थापाले पिता मोहनबहादुर, आमा रमा तथा दाइ विक्रम कठायतलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो।

एलिसालाई विषालु किराले टोकेपछि उच्च ज्वरो आउने र स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। स्वास्थ्य परीक्षणपछि शरीरभरि इन्फेक्सन फैलिएको देखिएपछि चिकित्सकहरूले भेन्टिलेटरमा राखेर मात्रै उपचार सम्भव हुने निष्कर्ष निकालेका थिए। पछिल्लो ११ दिनदेखि बालिका भेन्टिलेटरमै उपचाररत छिन्।

आर्थिक अवस्था सामान्य भएकाले परिवारले गोठगाउँ सरोकार समाजसँग सहयोगको लागि अपिल गरेको थियो। गत आइतबारदेखि सञ्चालन गरिएको सहयोग अभियानमा देश–विदेशबाट ६३ जना सहयोगी दाताले सहभागिता जनाएका थिए। सङ्कलित रकम परिवारलाई हस्तान्तरण गरिएको समाजका सचिव मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

रकम हस्तान्तरणका क्रममा अध्यक्ष थापाले संस्थाले विगतमा पनि बिरामी र विपदमा परेकालाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले एलिसाको उपचारमा अझै थप सहयोग आवश्यक भएको भन्दै इच्छुक दाताले बालिकाका दाइ विक्रम कठायतको ई-सेवामा प्रत्यक्ष सहयोग गर्न सक्ने जानकारी दिनुभयो।