काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् । पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुग्नुभएको थियो ।पूर्वराष्ट्रपति भण्डारी शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण हुनुभएको हो । पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको निर्देशन अवज्ञा गर्दै शनिबार बिहान पौने ९ बजे पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन आह्वान गर्नुभएको थियो ।
उता, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेशका सचिवालय सदस्य जयप्रकाश थारु, बाराको जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो । भण्डारीले वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको वृहत महिला सम्मेलन–२०८२ लाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्