बाजुरा, भदाै १४ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले अघि सारेको अभियानलाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले ‘एक युवा, पाँच बिरुवा’ भन्ने मूल मन्त्रसहित वृक्षारोपण अभियानको थालनी गरेको छ।
जिल्लाको सदरमुकाम मार्तडीस्थित कारागार पछाडिको पहिरो प्रभावित क्षेत्रबाट सुरु गरिएको अभियानको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराका उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख हरिबहादुर रोकाकाे प्रमुख आतिथ्यमा भएकाे हाे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय साइबर सर्कल विभागका सदस्य शेरजन रावल, बाजुरा क्याम्पस स्ववियु अध्यक्ष लक्ष्मण रोकाया, प्रकाश खड्का, जिल्ला कमिटी सदस्य वसन्त जोशीसहित युवाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

संघका अनुसार यो अभियान केवल वृक्षारोपण मात्र नभई भविष्यको पुस्तालाई हरियाली, वातावरणमैत्री र सुरक्षित समाज हस्तान्तरण गर्ने सङ्कल्प हो। पहिरोले प्रभावित भूभागलाई हरियालीले पुनः ढाक्ने आशा र वातावरण संरक्षणप्रतिको जिम्मेवारीलाई यस अभियानले प्रतिबिम्बित गरेको संघले जनाएको छ।
अभियानलाई सफल बनाउन समय, श्रम र सहयोग प्रदान गर्ने सबै अतिथि, सहभागी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संघले ‘एक युवा, पाँच बिरुवा’ र ‘हरियाली हाम्रो परिचय’ नारालाई अभियानकै मूल सन्देशका रूपमा अघि सारेको छ।













प्रतिक्रिया दिनुहोस्