जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १७:५७

पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनै पनि काम गर्न मिल्दैनः प्रदीप ज्ञवाली


काठमाडौं, १४ भदौ ।  नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउनुभएको छ ।

शनिबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपतिजस्तो सम्मानित र गरिमामय पदमा पुर्‍याएकाले पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने बताउनुभएको हो । उहाँले पूर्वराष्ट्रपति भण्डारीको पदीय गरिमा र व्यक्तित्वलाई सम्मान गर्न पनि दलगत राजनीतिमा आउन दिन नहुने तर्क गर्नुभयो ।

उहाँले संविधानले पनि राष्ट्रपति, उपराष्ट्रपतिजस्ता राष्ट्रको अभिभावकको रुपमा रहेका व्यक्तिलाई दलीय राजनीतिमा फर्कन नमिल्ने परिकल्पना गरेकोसमेत जिकिर गर्नुभयो ।

राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा फर्कने कुराले पदीय गरिमाको पनि न्याय नहुने उहाँको भनाइ थियो। उहाँले पूर्वराष्ट्रपति भण्डारीप्रतिको पार्टीको सम्मान, आदरभाव र उनको योगदानप्रतिको सम्मानमा कुनै कमी हुन नदिने पनि बताउनुभयो । उहाँले आगामी महाधिवेशनमा पनि पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको पनि बताउनुभयो। ओलीलाई पार्टीको नेतृत्वमा निरन्तरता दिने कुरामा पार्टीभित्र कुनै विवाद नरहेको पनि उहाँले दाबी गर्नुभयो ।