जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार २२:१५

एमाले शक्तिशाली बनेको छ, अब ‘मिसन ८४’ सफल पार्दै अघि बढ्छ : शङ्कर पोखरेल 


ललितपुर, भदौ १४। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले समाजमा बढ्दै गएको छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा दीर्घकालीन रूपमा घातक हुने टिप्पणी गर्नुभएको छ ।

ललितपुरको गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले दुर्गा प्रसाई र रवि लामिछानेजस्ता नेताहरूको बोली र शैलीले समाजलाई नकारात्मक दिशातर्फ धकेल्ने दाबी गर्नुभयो । उहाँका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव छ । ‘देशमा ओलीको विकल्प छैन,’ पोखरेलले भन्नुभयो, ‘संसदमा दोस्रो ठुलो दल भए पनि जनताको मनमा एमाले नै पहिलो शक्ति बनेको छ ।’

पोखरेलले हालै बढाइएको ७० वर्षे उमेर सीमा ओली व्यक्तिसँग मात्र जोडेर नहेर्न आग्रह गर्दै भन्नुभयो, ‘नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणका आधारमा ओली राष्ट्रकै विकल्प हुनुहुन्छ, संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान हुन्छ, पूर्वराष्ट्रपतिले मर्यादित रहनु आवश्यक छ, पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कमी राखेको छैन ।’

भारतले लगाएको नाकाबन्दी ओलीकै नेतृत्वमा डटेर सामना गरिएको स्मरण गर्दै उहाँले थप्नुभयो, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा बदल्ने साहस ओलीबाहेक अरू कसैमा छैन, ढिलो चाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ ।’

महासचिव पोखरेलका अनुसार एमाले पटक–पटक विभाजित भए पनि पुनः एकीकृत भएर बलियो बनेको छ । उहाँले भन्नुभयो, ‘दूरदर्शी नेतृत्व ओलीमै छ, एमाले शक्तिशाली बनेको छ र अब ‘मिसन ८४’ सफल पार्दै अघि बढ्छ ।’

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले पार्टीभित्र निराशाको कारण नरहेको स्पष्ट पार्दै भन्नुभयो, ‘२०७९ को तुलनामा अहिलेको वातावरण अनुकूल हुँदै गएको छ, व्यक्तिगत दम्भ र लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ ।’

भट्टराईका अनुसार आगामी भदौ २० देखि २२ सम्म गोदावरीमै हुने दोस्रो विधान महाधिवेशनले पहिलो महाधिवेशनको समीक्षासहित पार्टीलाई अझ सुदृढ बनाएर ‘मिसन ८४’ सफल पार्ने मार्गदर्शन गर्नेछ ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य बाबुराम थापा, वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मधुसूदन पौडेल, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, ललितपुर क्षेत्र नम्बर १ इञ्चार्ज रूपनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमभक्त महर्जन र रघुनाथ महर्जन, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यलगायत नेताहरूको उपस्थिति थियो ।

प्रशिक्षण कार्यक्रम अघि टाहाखेल चौतारोबाट धिमे बाजा र खैँजडी भजनसहित स्वागत गरिएको थियो । कार्यक्रममा गोदावरी नगरभित्रका मात्र नभई छिमेकी पालिकाका कार्यकर्ताहरू पनि उत्साहपूर्वक सहभागी भएका थिए ।