काठमाडौं, १५ भदौ। उपत्यकाका विभिन्न तीन स्थानमा बम राखिएको भन्दै प्रहरी कन्ट्रोललाई फोन गरेर आतंकित पार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका– २ स्थायी घर भई काठमाडौं, कीर्तिपुर– १० बस्ने जयरुद्र झा पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताउनुभयो । उनले भदौ १३ गते प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंका विभिन्न शैक्षिक संस्थामा विष्फोटक पदार्थ (बम) राखेको र सो दिन ४ बजेसम्म पडकिन्छ भनी झुठो सूचना दिएका थिए । तर, उनले भनेका ठाउँमा न बम भेटियो, न विष्फोट नै भयो । झाले कुलेश्वरस्थित जनमैत्री माविमा सञ्चालित जनप्रशासन संकायअन्तर्गत स्नातकोत्तर तहको परीक्षास्थलमा बम रहेको भनेका थिए । प्रहरीका अनुसार उनी आफैं उक्त केन्द्रका परीक्षार्थी थिए । यथेष्ट तयारी नगरेका कारण परीक्षा सार्ने उपायका निम्ति कन्ट्रोललाई फोन गरेको बताएका छन् । उनी सेरामिक्स टायल्सका बैंक प्रतिनिधिको जागिरे हुन् ।
परीक्षा दिनको अल्छीले बम राखेको हल्ला













प्रतिक्रिया दिनुहोस्