जनता टाइम्स

१६ भाद्र २०८२, सोमबार १६:२७

बिपी राजमार्गमा भदौ मसान्तसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक


काठमाडाैं, भदाै १६। जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने व्यवस्था भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।

गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको बिपी राजमार्ग भौगोलिक रूपमा कमजोर रहेको र सामान्य वर्षातमै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने अवस्था  रहेकाेले यस्ताे निर्णय गरिएकाे प्रशासनले जनाएको छ । मनसुनको जोखिम अझै कायम रहेको भन्दै सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने भएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रु र सवारीसाधनलाई सम्भावित जोखिमबाट जोगाउन यो निर्णय गरिएको स्पष्ट पार्दै भदौ १६ गतेदेखि ३१ गतेसम्म यो व्यवस्था लागू हुने जानकारी दिनुभएको छ । उहाँले सवारी चालक र यात्रुलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

यसअघि भदौ १५ गते रातिसम्म रातिको समयमा सवारी सञ्चालन गर्न रोक्ने व्यवस्था गरिएको थियो । अब सो अवधि भदौ मसान्तसम्म लम्बिएको छ ।