काठमाडौं, भदौ १८ । चीन र भारतका शीर्ष नेताहरूले दुई देशबीच सीमासहितका मुद्दामा वर्षौँदेखिको तनावपछि दुई देशबीच अहिले विश्वास बढ्दै गएको जनाउ दिएका छन ।
चिनियाँ बन्दरगाह शहर तिआन्जिनमा साङ्घाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) को शिखर बैठकको साइडलाइनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएका भेटवार्तापछि दुवै देशका नेताहरुले सो निश्कर्ष सुनाएका हुन ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति सीले चीन र भारत प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्ने धारणा भारतीय प्रधानमन्त्री मोदीसँग राख्नुभएको छ । मोदीले पनि अहिले दुई देशबीच शान्ति र स्थिरताको वातावरण भएको उल्लेख गर्नुभएको छ ।
एससीओको वार्षिक बैठकअघि मोदीले चिनियाँ राष्ट्रपति सीसँग वार्ता गर्नुभएको थियो । विगत सात वर्षयता मोदी चीन भ्रमणमा पुगेको यो पहिलो पटक हो। चीनका एक निकट साझेदार पुटिन आइतवार तिआन्जिन पुग्नुभएको थियो ।
दिल्लीले रुसबाट तेल खरिद जारी राखेकोमा दण्ड स्वरूप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय सामानहरूमा चर्को ट्यारिफ लगाएको र युक्रेन युद्धलाई लिएर पुटिनले प्रतिबन्धहरूबारे चेतावनी झेलिरहेका बेला शिखर बैठकमा नेताहरु जमघट भएका हुन ।

भारतीय सामानहरूमा अमेरिकाले लगाएको ५० प्रतिशत आयात शुल्क यसै साताबाट कार्यान्वयनमा आइसकेको छ। बेइजिङको समर्थन प्राप्त एससीओमा पाकिस्तान, इरानसहित १० वटा सदस्य राष्ट्र छन् भने १६ देश संवाद साझेदार तथा पर्यवेक्षकका रूपमा रहेका छन । बैठकका लागि चीन पुगेका २० जना विश्व नेताहरूमा प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री मोदी पनि हुनुहुन्छ ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो जस्ता पश्चिमा गठबन्धनहरूको प्रभावलाई सीमित पार्ने कदम स्वरूप सन् २००१ मा चीन, रुस र मध्ये एशियाका चार देशहरूले एससीओ गठन गरेका हुन्। यो वर्षको शिखर बैठक उक्त सङ्गठन निर्माण भएयताकै सबैभन्दा ठूलो रहेको बिबिसीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्