जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार ०७:०७

नागरिकतादेखि जलस्रोत विधेयकसम्म यस्ता छन आज प्रतिनिधिसभा बैठकको कार्यसूची


काठमाडौं, भदौ १८ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकतादेखि जलस्रोत विधेयकसम्मका कार्यसूची रहेको छ ।

आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रमसमेत रहेको छ ।

यसैबीच, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ । बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।