-कृष्णहरि केसी-
नेकपा (एमाले) जनमतका हिसाबले नेपाली जनताको सबैभन्दा लोकप्रिय पार्टी हो । वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टीको ऐतिहासिक नीति महाधिवेशन यही भदौ २०–२२ गते ललितपुरको गोदावरी स्थित सनराज हलमा भव्य रूपमा आयोजना गरिएको छ । यसले पार्टीको आगामी नीति र विधान पारित गर्ने छ । पार्टीको नीति र विधानका आधारमा सांगठनिक संरचनाको आगामी बाटो समेत तय गर्ने छ ।
समृद्ध नेपाल सुखी नेपालीको लागि कस्तो नीति, कस्ता कार्यकर्ता, कस्ता कमिटी र कस्ता जनसंगठन आवश्यक पर्नेछ भन्ने कुराको छिनोफानो पनि लगाउने छ । कम्युनिष्ट पार्टीको स्थापनाको १०० वर्षलाई तार्गेट समय मान्ने हो भने अबको २५ वर्षमा के के गर्नुपर्ने हो । डे वानबाट सुरु गरिने कार्यक्रम के के हुन् ? सामान्यतया अल्पकालीन र दीर्घकालीन नीति यस महाधिवेशनले तय गर्ने छ ।
तसर्थ यो केवल नेकपा एमालेको लागि मात्रै हैन सिङ्गो नेपाली समाजलाई कसरी प्रगतिशील रूपान्तरण गर्न सकिन्छ र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय कार्यभारलाई कसरी सही निचोडमा पुर्याउन सकिन्छ भनेर नेपाली जनताको मूल बाटो समेत निर्क्योल गर्ने महाधिवेशन हो ।
हामीले कस्तो पार्टी बनाउँदै छौँ भन्ने कुराले कस्तो राष्ट्र निर्माण गर्ने हो भन्ने कुराको पनि निर्क्योला हुने गर्छ । त्यस कारण पार्टीको विधान महाधिवेशनले निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
सदस्यता र सांगठनिक संरचना
नेकपा (एमाले)को संगठनात्मक संरचनाका हिसाबले एसियाकै उच्चतम पार्टीभित्र पर्छ । जनवादी केन्द्रीयतामा आधारित संगठनात्मक सिद्धान्तले जनआधारित कार्यकर्ता निर्माणमा विशेष जोड दिन्छ । पार्टीभित्र आलोचना–आत्मालोचना, अनुशासन, जबाफदेहिता र पारदर्शिता सुनिश्चित गर्छ ।
पार्टीका नेता र कार्यकर्ताहरू सूर्यमुखी घामजस्तो सूर्यतिर फर्किरहने हैन बरु सयौँ वर्ष बाँचिरहने बर जस्तै निरन्तर जमिनसित जोडिन जरा विस्तार गरिरहने हुनुपर्छ । जनतातिर फर्किने र जनमत सिर्जना गर्ने जनताको नजिक रहन, समस्या बुझ्न र समाधानका लागि क्रियाशील कार्यकर्ता आजको आवश्यकता हो ।
मदन भण्डारीका अनुसार, “सच्चा कम्युनिष्ट नेता जनताको सपनालाई आफ्नै सपना ठान्छ । यसले पार्टीको नेतृत्वमा त्याग, इमानदारी र जनभावनाको सम्मान प्रति सदैव दृढ रहन प्रेरित गर्छ । पार्टी सदस्यता गौरवको विषय रहनु पर्छ । सदस्यता प्रवेशका लागि निश्चित प्रक्रिया (कोर्स) पार गर्नुपर्ने वाध्यात्मक बाटो बनाउनु पर्छ । सदस्यताको नाम संगठीत तर त्यो सदस्यता प्राप्त गर्ने व्यक्ति असंगठित हुने अपुरो परिस्थिति अन्त्य गरिनुपर्छ ।
पार्टीभित्र जनआकर्षण पैदा गर्ने र विशेष गरी सबै क्षेत्रका युवाहरूको कमिटीमा उपस्थिति रहने विषय सुनिश्चितताको विधि कायम गरिनुपर्दछ । नेपाली समाजको सामाजिक–आर्थिक रूपान्तरणलाई वैज्ञानिक आधारमा अघि बढाउन पार्टीले मार्क्सवाद–लेनिनवाद र लोकतान्त्रिक गणतन्त्रको आधारमा समाजवादसम्म पुग्ने बाटोमा अगाडि बढाउने घोषित लक्ष्यलाई सफल पार्न सक्ने कमिटी निर्माण गर्नु आजको मुख्य काम हुन गएको छ । यो विषय नीति महाधिवेशनको एउटा महत्त्वपूर्ण सवाल हो ।
नीति र कार्यक्रमको तालमेल
नीति अरूपको कार्यक्रमको निरूपण गर्नुपर्नेछ । समृद्ध नेपाल सुखी नेपाली हाम्रो कार्यक्रमिक नारा हो भने समृद्धिको लागि उद्यमशीलताको विकास, रोजगारीको सिर्जना, कृषिमा आधुनिकीकरण, औद्योगिक विकास, शिक्षा र स्वास्थ्य सुधारमा पार्टीको स्पष्ट नीति तय गर्नुपर्नेछ ।
निर्वाचन ताका पार्टीले तयार पारेका घोषणा पत्रहरू कहिलेसम्म, ककसले र कसरी कसरी लागू गर्ने हो ? त्यसमा पार्टी कमिटी र जनसंगठनहरुको भूमिका के हुने हो ? स्वावलम्बी अर्थतन्त्र, सामाजिक समानता र राष्ट्रिय स्वाधीनता सुनिश्चित गर्ने मूलबाटोलाई अझ फराकिलो बनाउन पार्टी कमिटी र जनसंगठनहरुले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? यी यावत विषयको निर्क्योल निकाल्ने ऐतिहासिक थलोको रूपमा सिङ्गो देशले नेकपा एमालेको विधान महाधिवेशनलाई हेरिरहेका छन् ।
मिसन ८४ केबल चुनावी एजेण्डा मात्रै होइन, बरु समाजलाई संविधानले भने बमोजिम समाजवादतर्फ प्रवेश गराउने महत्त्वपूर्ण मिसन हो । यो मिसन ८४ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउने तागत सिर्जना गर्ने थलो यो विधान महाधिवेशन बन्नुपर्नेछ ।
मार्क्सले भने जसरी नै संसारलाई व्याख्या मात्र गर्ने होइन बरु संसारलाई बदल्ने भने जस्तै नेपालको वर्तमान अवस्थालाई व्याख्या मात्रै गर्ने होइन बदल्ने योजना आजको आवश्यकता हो । बदल्नको लागि महत्त्वपूर्ण नक्सा कोर्ने थलो बन्नु पर्नेछ यो विधान महाधिवेशन । पार्टीको यो विधान महाधिवेशन नेपाली समाजलाई समृद्धिको कोर्समा प्रवेश गराउने एउटा माइलस्टोन बन्नु पर्छ ।
वैचारिक स्पष्टता
कम्युनिष्ट आन्दोलन, राजनीतिक दल वा कुनै पनि सामाजिक रूपान्तरणको यात्रामा वैचारिक स्पष्टता (Ideological Clarity) नै मेरुदण्ड हो । बिना वैचारिक स्पष्टता, संगठनहरू केवल भीड, आन्दोलनहरू केवल क्षणिक, र नेताहरू केवल अवसरवादी बन्न पुग्छन् । लोकप्रियतावाद, मिसइन्फरमेशन र डिसइन्फरमेशनले सताइरहेको वर्तमान नेपाली समाजलाई सही दिशा निर्देश गर्ने गरी मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई अझ सिर्जनात्मकता दिनु पर्नेछ ।
भ्लादिमिर लेनिनले वैचारिक स्पष्टताको महत्वलाई गहिरो ढङ्गले प्रस्तुत गर्नु भएको छ। “Without revolutionary theory, there can be no revolutionary movement.” अर्थात् क्रान्तिकारी सिद्धान्त बिना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन । कस्तो विचार निर्माण गर्ने भन्ने सन्दर्भमा अझ माओ त्से तुङ त के भन्नुहुन्छ भने “No investigation, no right to speak.” (अनुसन्धान नगरेसम्म बोल्ने अधिकार छैन) यसले के देखाउँछ भने विचार केवल पुस्तकमा होइन, जनजीवनमा परीक्षण हुनुपर्छ । विचार स्पष्ट भएपछि मात्र त्यसले वास्तविकता परिवर्तन गर्न सक्छ ।
यही दृष्टिकोणमा अडिएर जननेता मदन कुमार भण्डारीले “मार्क्सवादलाई नेपालीकरण गर्नुपर्छ भन्नुभएको थियो । वैचारिक आधार मार्क्सवाद–लेनिनवादको जगमा टेकेर त्यसलाई नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थसँग जोडेर प्रयोग नगरेसम्म सफल समाजवादी क्रान्ति सम्भव छैन ।
त्यसैले आजको वैचारिक स्पष्टता भनेको राष्ट्रिय पुँजीको विकास र समाजवादको निर्माणको यात्रा तय गर्नु । राष्ट्रिय पुँजीको विकास गर्ने कार्यकर्ता भनेका उत्पादन र उद्यममा जोडिएका, राज्यलाई राजश्व वृद्धि गर्ने साझेदारको रूपमा खडा हुनुपर्नेछ ।
एउटा कमिटीले एक वर्षमा समाजवादको निर्माणको आधारशिलामा कति योगदान गर्यो भन्ने विषयलाई नेतृत्व विकासको मापदण्ड बनाइनु पर्छ । एउटा कार्यकर्ताले राष्ट्रिय पुँजी निर्माण, उद्यमशीलता र रोजगारीको सिर्जनामा कति योगदान गरिरहेको छ र ? अझ कसरी बढी योगदान गर्न सक्ने बनाउन सकिन्छ भनेर पनि पार्टीले मूल्याङ्कन गर्नुपर्नेछ । युवापङ्तिमा बढ्दो निराशालाई अन्त्य गर्दै देशभित्रै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने एउटा राष्ट्र निर्माणको राष्ट्रिय मनोविज्ञान सिर्जना गर्नुपर्ने छ ।
वैचारिक स्पष्टता भनेको केवल “पढाइ” वा “सिद्धान्त” मात्र होइन, यो त समाजलाई विश्लेषण गर्ने दृष्टिकोण हो र समाजलाई बदल्ने परिवर्तनको बाटा हो । पार्टी, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने साझा आधार पनि हो । वैचारिक अस्पष्टता हुँदा संगठनमा विभाजन, नेतृत्वमा अविश्वास र आन्दोलनमा दिशाहीनता आउँछ । तर वैचारिक स्पष्टता हुँदा संगठन एक ढिक्का, जनता विश्वस्त, र आन्दोलन सफल हुन्छ । यो महाधिवेशनले पार्टीको आगामी २५ वर्षे यात्रालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा स्पष्ट दिशा निर्देश गर्न सक्नु पर्दछ ।
राजनीतिक कार्यक्रम
राजनीतिक कार्यक्रम आन्दोलनलाई मार्गनिर्देशन गर्ने (बाटो देखाउने) कम्पास हो । सही राजनीतिक कार्यक्रमले जनताको आवश्यकता सम्बोधन गर्ने र जनसमर्थन बढाउने कार्य गर्छ । संगठनात्मक एकता र संगठनभित्र समान विचार र नीति निर्माणमा महत्त्वपूर्ण कार्य गर्छ । कार्यक्रमले अन्तर्राष्ट्रिय छवि र विश्व राजनीतिमा आफ्नो पहिचान स्थापित गराउँछ । त्यसैले राजनीतिक कार्यक्रम भन्नाले कुनै पनि पार्टी, संगठन वा आन्दोलनले आफ्नो दीर्घकालीन लक्ष्य (उद्देश्य) र तात्कालिक रणनीति (मार्ग) स्पष्ट पार्ने दस्ताबेज वा योजना हो । यही योजना पार्टीको विधान महाधिवेशनले बनाउनु पर्नेछ ।
आन्दोलनले कस्तो समाज निर्माण गर्ने हो ? कुन बाटो समात्ने हो ? कुन किसिमका नीतिहरू अपनाउने हो ? भन्ने कुरामा स्पष्ट दिशानिर्देश दिन्छ । हाम्रो पार्टीसँग मूलतः राजनीतिक कार्यक्रम तीन तहमा हुने तय गरेको छ । मूल कार्यक्रम– दीर्घकालीन लक्ष्य, जस्तै समाजवाद स्थापना ।
रणनीतिक कार्यक्रम– त्यो लक्ष्यमा पुग्ने मार्ग, जस्तै “जनताको बहुदलीय जनवाद” ।
तात्कालिक कार्यक्रम– तत्काल जनताका आवश्यकता सम्बोधन गर्ने कार्यक्रम, राष्ट्रिय पुँजीको विकास जस्तै उद्यम र रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य पहुँच, भ्रष्टाचार विरुद्ध सुशासनको अभियान आदि ।
विश्व अनुभवका उदाहरण मार्क्स–एङ्गेल्स (कम्युनिष्ट घोषणापत्र, १८४८), पहिलो पटक स्पष्ट राजनीतिक कार्यक्रम प्रस्तुत भयो । निजी सम्पत्तिको अन्त्य, श्रमिक वर्गको राज्यसत्ता, साम्यवादतर्फको मार्ग । लेनिन (रुस, १९१७), “शान्ति, भूमि, रोटी” भन्ने राजनीतिक कार्यक्रम प्रस्तुत गरेर तत्काल श्रमिक र किसानलाई आकर्षित गरे । अर्थात् युद्ध हैन न्यायपूर्ण शान्ति, उत्पादनको साधनमा बराबरी स्वामित्व र गरिमामय सम्मानको जीवनयापन । यही आधारमा अक्टोबर क्रान्ति सफल भयो ।
माओ (चीन), “नौलो–जनवादी क्रान्ति” को कार्यक्रम ल्याएर उपनिवेशवाद, सामन्तवाद र दलाल नोकरशाही–पुँजीवाद विरुद्ध सङ्घर्ष गरे । यो अभियानमा यतिसम्म कि पश्चिमाको मानव अधिकारको पछि धेरै नकुद बरु राष्ट्रको लागि सेक्रिफाईस गर्न तयार बन भनेर सबैले श्रम गर्नुपर्ने र महिनामा एक दिन मात्रै मासु भात खाऔँ तर राष्ट्रको लागि योगदान गरौँ भन्ने भावना जागृत गरे र आजको यो समृद्धिशाली चीन बन्न सम्भव भयो । यी सबैले प्रमाणित गर्छन् कि राजनीतिक कार्यक्रम स्पष्ट र जनताको जीवनसँग जोडिएको हुनुपर्छ ।
नेपालमा राजनीतिक झलक
२००७ सालको प्रजातन्त्र आन्दोलन । लक्ष्य थियो – राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना ।
२०३६ सालको जनमत सङ्ग्रह । राजनीतिक कार्यक्रम थियो– पञ्चायती शासनको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना ।
२०४६ सालको जनआन्दोलन । लक्ष्य थियो– पञ्चायत अन्त्य, बहुदलीय प्रजातन्त्रको स्थापना ।
२०६२–६३ को जनआन्दोलन । कार्यक्रम थियो– राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना ।
त्यसो भए अब कार्यक्रम नारा के हुने त ? वर्तमान नेपालमा आवश्यक राजनीतिक कार्यक्रम कस्तो हुने त ?
अबको कार्यक्रमिक नारा “दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको निर्माण र समाजवादको स्थापना” भन्ने हुनुपर्छ । समाजवादको स्थापना हो भने शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर संविधान कार्यान्वयनको सवाल महत्त्वपूर्ण रहेको छ । उद्यमशीलताको विकास → उद्योगको विकास → सुशासनको ग्यारेण्टी→ राज्यको अभिभावकीय भूमिका आदिको चेनलाई व्यवस्थित गराई कार्यान्वयन गर्नुपर्नेछ । पार्टीको राजनीतिक कार्यक्रम नहुँदा के हुन्छ ? आन्दोलन दिशाहीन हुन्छ । गुटबन्दी र अवसरवाद बढ्छ । जनताको समर्थन गुम्छ । आन्दोलन अल्पकालीन लोकप्रियतामा सीमित हुन्छ । नेपालका अधिकांश पार्टीहरूमा यो रोग मात्रै हैन महारोग बनिरहेको छ ।
आज नेपालका युवाहरू, श्रमिक, किसान, महिला, दलित, आदिवासी जनजाति सबैको साझा समस्या छन् । बेरोजगारी र वैदेशिक रोजगारीमा निर्भरता, शिक्षामा असमानता, स्वास्थ्य र सामाजिक सुरक्षाको कमी, भ्रष्टाचार र असक्षमता, कृषि र उद्योगमा मागअनुसारको सुधार नहुनु, त्यसैले अहिलेको राजनीतिक कार्यक्रमले यी बुँदामा जोड दिनुपर्छ । रोजगारी सिर्जना (उद्योग, सहकारी, पर्यटन, कृषि), व्यावसायिक र प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य र सामाजिक सुरक्षा, भ्रष्टाचार नियन्त्रण र सुशासन, समावेशीकरण र समानता, वातावरण संरक्षण र जलवायु न्याय ।
त्यसैले राजनीतिक कार्यक्रम भनेको नारा मात्र होइन, यो समाजको जीवन्त दस्ताबेज हो । यो जनताको आकाङ्क्षा, संगठनको विचार र इतिहासको आवश्यकता मिलाएर बनाइनुपर्छ । हाम्रो राजनीतिक कार्यक्रमले “समाजवादको बाटो” त देखाउनु पर्दछ । त्यसको लागि तत्काल जनताको जीवनस्तर सुधार गर्ने कार्यक्रममा अझै ठोस कार्यान्वयनको खाँचो छ । त्यसैले आजको चुनौती भनेकै वैचारिक स्पष्टताका साथ व्यवहारिक राजनीतिक कार्यक्रम मिलाएर अघि बढ्नु हो । अर्थात् विचार व्यवहारको तालमेल जरुरी छ । यो विधान महाधिवेशन यस सवालमा कोशेढुङ्गा बन्न सक्नुपर्छ ।
समाजवादी अर्थतन्त्र निर्माण
प्राकृतिक स्रोत (जल, वन, खानी) को राष्ट्रिय स्वामित्व कायम गर्ने, सहकारी र उत्पादनमूलक उद्यमलाई प्रोत्साहन दिने, समावेशी समाज निर्माण, वर्ग, जाति, लिङ्ग, क्षेत्रीय तथा सांस्कृतिक आधारमा हुने भेदभाव अन्त्य गर्ने, समान अवसरको नीति कार्यान्वयन गर्ने, कृषि आधुनिकीकरणमार्फत आत्मनिर्भरता स्थापित गर्ने, उद्योग र जलविद्युतमा लगानी बढाउने, युवालाई रोजगारी सिर्जना गर्ने विशेष अभियान सञ्चालन गर्ने, श्रमशक्तिको उत्पादनमुखी परिचालन गर्ने, सबै नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, लैङ्गिक समानता र महिला सशक्तीकरण गर्ने, सामाजिक सुरक्षा योजना (वृद्ध भत्ता, अशक्त भत्ता) लाई अझ व्यवस्थित बनाउने, भ्रष्टाचारविरुद्ध कडा अभियान, कानुनी शासन र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने, स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउने, ऊर्जा, सडक, सूचना प्रविधि, र सहरी–ग्रामीण विकासमा जोड, पर्यटनलाई आन्तरिक उत्पादनमा योगदान दिने प्रमुख क्षेत्र बनाउने, रोजगार र उद्यमशीलता कार्यक्रम सञ्चालन “युवा उद्यम कोष” स्थापना, “स्वदेशमै रोजगारी” राष्ट्रिय अभियान सञ्चालन “एक घर–एक सीप” अभियान सञ्चालन, प्रवासी नेपाली सञ्जाल स्थापना र युवालाई स्वदेश विकासमा सहभागी गराउने अभियान सञ्चालन ।
चुनौती र समाधान
नेकपा (एमाले) नेपालको सबैभन्दा पुरानो र जनप्रिय कम्युनिष्ट पार्टी मध्ये एक हो । तर वर्तमान राजनीतिक परिस्थिति र आगामी लक्ष्य “मिसन ८४” (एमालेलाई एकल बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति बनाउने) लाई सफल बनाउन सङ्गठनात्मक क्षमता र रणनीतिक योजना अपरिहार्य छ । त्यसमा केही चुनौती अवश्य छन् तर वाधा व्यवधान पन्छाउँदै पार्टीले लक्ष्य भेट्नै पर्ने हुन्छ ।
चुनौती
(क) संगठनभित्र गुटबन्दी : पार्टी भित्र विभिन्न गुट र व्यक्तिगत स्वार्थले नेतृत्वलाई कमजोर बनाएको छ । बहुमत प्राप्ति र नीति कार्यान्वयनमा बाधा उत्पन्न गराएको छ ।
(ख) नीति, विधि र कार्यक्रममा होइन केवल नेतृत्वमा मात्रै बहस केन्द्रित :पार्टीको मार्गदर्शक सिद्धान्तमा कुनै दुबिधा छैन । तर जनतालाई पार्टीको लक्ष्य र मार्ग स्पष्ट महसुस हुने नेतृत्व पुञ्जको एकरूपता छैन । युवा, महिला, र नयाँ कार्यकर्ता वर्गमा उत्साह घट्दै गएको छ ।
(ग) विदेशी हस्तक्षेप र अवसरवाद : वैदेशिक प्रभाव र राजनीतिक अवसरवादी प्रवृत्ति पार्टीको एकता र निर्णायक शक्ति निर्माणमा चुनौती खडा भइरहेको छ ।
(घ) जनसंगठनहरुको जरा कमजोर हुनु : गाउँदेखि सहरसम्म पार्टी कमिटी र जनसंगठन प्रभावकारी सक्रिय छैनन् । जनताका हरेक समस्यामा पहिले पुग्ने पार्टीको ऐतिहासिक परम्परामा ह्रास आउँदै गएको छ । स्थानीय तहमा युवाहरू, महिला र किसान वर्गलाई प्रभावकारी रूपमा समेट्न सकिएको छैन ।
समाधानका उपाय
(क) निरन्तर प्रशिक्षण : वैचारिक स्पष्टताका लागि निरन्तर प्रशिक्षण, स्मरण सभा, विचार–चिन्तन कार्यक्रम सञ्चालन, मार्क्स, लेनिन, माओ र मदन भण्डारीका विचारलाई व्यावहारिक राजनीतिक कार्यक्रममा रूपान्तरण अभियान ।
(ख) संगठन सुदृढीकरण : गाउँदेखि जिल्ला र केन्द्रीय तहसम्म पार्टी कमिटीलाई सक्रिय बनाउने । जिम्मेवारी स्पष्ट र पारदर्शी कार्य विभाजन, कामको निश्चित कार्यतालिका, नियमित अनुगमन र मूल्याङ्कन विधि स्थापित गर्ने ।
(ग) जनसंगठन विस्तार : युवा, महिला, किसान, मजदुर, विद्यार्थी समुदायलाई पार्टीसँग निरन्तर जोड्ने । जराकेन्द्रित नेतृत्व विकास, स्थानीय तहमा नीतिगत प्रभाव सुनिश्चित गर्ने । केन्द्रीय कमिटी मात्रै चल्ने तर आधारभूत तहमा कमिटी चल्न नसक्दा उद्देश्य हासिल गर्न सकिँदैन । एउटा शरीरमा हलचल पैदा गर्न केबल टाउको मात्रै हल्लिएर केही हुनेवाला छैन । त्यसको लागि कम्मर देखी पैताला सबै उतिकै गतिमान हुनुपर्छ । पार्टीको वास्तविक नर्सरीको रूपमा जनसंगठन रहनु पर्दछ ।
(घ) मिसन ८४ को रणनीति : बहुमत प्राप्त निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य नै मिसन ८४ हो । यसका लागि स्थानीय तह सुदृढीकरण गर्ने र नगरपालिका, गाउँपालिका, र प्रदेश सरकारमा प्रभाव कायम राख्नु पर्छ । जनताको विश्वास जित्ने अभियान सञ्चालन गर्नुपर्छ । रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, कृषि र उद्योग सम्बन्धी बृहत् आशा जागृत गर्ने अभियान सञ्चालन गर्नुपर्छ । यो विषयमा विधान महाधिवेशनले निश्चित रूपमा फैसला गर्न सक्नुपर्दछ ।
(ङ) बृहत् पार्टी स्कुलको स्थापना : पार्टीलाई परिवर्तित सन्दर्भमा अपडेट गर्ने, नेतृत्वको क्षमता अभिवृद्धिमा नियमित योगदान पुर्याउने, विश्व कम्युनिष्ट आन्दोलन र वर्तमान विश्व व्यवस्थाको विषमा विशेष अध्ययन गर्ने, हरेक पार्टी सदस्यले अनिवार्य कक्षा लिनै पर्ने, बदलिएको विज्ञान प्रविधि र एआई मैत्री नेता, कार्यकर्ता, संगठन र तिनको सञ्चालन प्रक्रियालाई अपडेट, असल कम्युनिष्ट, असल मानवीय चरित्र र समृद्ध नेपाल सुखी नेपालीको कर्मी मौरीहरूको निर्माण गर्ने थलो बनाउन गरी बृहत् पार्टी स्कुलको स्थापना गर्नुपर्ने छ । जसले नेकपा एमाले लामो इतिहास बोकेको नयाँ पार्टीको रूपमा हर क्षेत्रका जनसमुदायका बिचमा चुम्बकीय आकर्षण पैदा गर्ने र थिङ्क ट्याङ्कको जन्म गराउने कारखानाको रूपमा पार्टी स्कुलले काम गर्ने छ ।
च) पार्टी प्रचारको कार्यलाई व्यवस्थित बनाउने : पार्टी प्रचारको कार्य अहिलेको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण सवाल हो । प्रचार कार्य पार्टीको केवल आफ्नो विचार प्रसारण गर्ने माध्यम मात्र होइन, बरु जनता र समाजसँग सशक्त संवाद गर्ने रणनीतिक कार्य हो । प्रचारलाई योजनाबद्ध, वैज्ञानिक र तथ्याधारित ढङ्गले अघि बढाउँदा मात्र आमजनताको विश्वास जित्न, भ्रम चिर्न, वैचारिक स्पष्टता कायम गर्न र संगठनको दीर्घकालीन आधार सुदृढ गर्न सकिन्छ । यसका लागि समसामयिक प्रविधि, सामाजिक सञ्जाल, जनसमुदायस्तरको प्रत्यक्ष संवाद, सरोकारवाला क्षेत्रमा सार्थक बहस र शैक्षिक सामग्रीहरूको संयोजन मार्फत प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । प्रचार कार्य सतही नाराबाजीमा सीमित नभई जीवन्त अनुभव, प्रमाण र व्यवहारिक विकल्प प्रस्तुत गर्ने भरपर्दो कामको क्षेत्र बनाउनु पर्नेछ । जसले युवादेखि बुद्धिजीवीसम्म सबैलाई आकर्षित गरेर पार्टीलाई एक जिम्मेवार, अग्रगामी, दूरदर्शी राजनीतिक शक्तिको रूपमा उभ्याउँदै निर्णायक राष्ट्रिय शक्ति बनाउनेछ ।
निष्कर्ष
नेकपा एमालेको विधान महाधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र होइन, नेपाली समाजको भविष्य तय गर्ने ऐतिहासिक अवसर हो। यसले पार्टीलाई वैचारिक स्पष्टता, व्यवहारिक कार्यक्रम र संगठनात्मक सुदृढीकरणमार्फत आगामी २५ वर्षको मार्गदिशा दिनुपर्दछ। “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्यलाई व्यवहारमा उतार्ने यो महाधिवेशन वास्तवमै एक माइलस्टोन बन्न सक्दछ।
(लेखक राष्ट्रिय युवा संघ नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)













प्रतिक्रिया दिनुहोस्