काठमाडौं, भदाै १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले आफूमाथि बनेको ‘डिप फेक’ सामग्रीबारे साइबर ब्युरोमा मुद्दा दर्ता गरेपछि राजनीतिक वृतमा नयाँ बहस सुरु भएको छ। वाग्लेले कानुनी बाटो रोजेको विषयलाई सकारात्मक मानिएको भए पनि यो घटनाले रास्वपाको सामाजिक सञ्जाल प्रयोगबारे पनि प्रश्न उठाएको छ।
यसै सन्दर्भमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले वाग्लेलाई लक्षित गर्दै कडा प्रश्न सार्वजनिक गर्नुभएको छ। बस्नेतले सामाजिक सञ्जालमार्फत वाग्लेलाई सोधेका प्रश्नहरूमा रास्वपाले सञ्चालन गर्दै आएको भनिएको ‘ट्रोलिङ’ र ‘डिजिटल युद्ध’ मुख्य विषय बनेको छ। ‘तपाईं र तपाईंको पार्टीकै नाममा सामाजिक सञ्जालमा चलिरहेको डिप फेक कारखाना के गर्नुहुन्छ ? तपाईंका नेता–कार्यकर्ताबाट पुराना दल र नेतामाथि मिथ्या प्रचार, चरित्र हत्या, गालीगलौज, गलत सूचना र फोटो–भिडियो म्यानेपुलेसनजस्ता क्रियाकलाप फैलिरहेको कुरा के तपाईंलाई थाहा छैन ?’ बस्नेतको प्रश्नमा उल्लेख छ।
उहाँले थप चुनौती दिँदै भन्नुभएकाे छ, ‘तपाईंलाई लक्षित गलत सामग्री साइबर क्राइम हुन्छ भने, अरू दलका नेतामाथि तपाईंका कार्यकर्ताले गर्ने चाहिँ अपराध होइन ?’
बस्नेतका अनुसार रास्वपाले सुरुदेखि नै सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउँदै आएको छ। उहाँले रास्वपाको शैलीलाई ‘तथ्यभन्दा बढी प्रचार, विचारभन्दा बढी इफेक्ट, राजनीति भन्दा बढी डिजिटल भीड निर्माण’ भनेर व्याख्या गर्नुभएको छ।
वाग्लेले आफूमाथि डिप फेक बनेको भन्दै कानुनी बाटो रोज्दा अरू नेताले पनि त्यस्तै सामग्रीबारे साइबर ब्युरो धाउनुपर्ने अवस्था आउँछ कि आउँदैन ? भन्ने प्रश्न बस्नेतले उठाउनुभएकाे छ। ‘आफूलाई लक्षित हुँदा अपराध ठान्ने, तर अरूलाई लक्षित गर्दा मौन रहने दुईवटा कुरा एउटै समयमा मिल्दैन,’ उहाँले चेतावनी दिनुभएको छ।
बस्नेतले वाग्लेलाई नै प्रश्न गर्दै भन्नुभएकाे छ– ‘के तपाईंले आफ्नै ट्रोल फ्याक्ट्री, इफेक्ट/डिप फेक मिडिया बन्द गर्ने साहस गर्नुहुन्छ ? कि अरू नेताले पनि तपाईंविरुद्ध मुद्दा हाल्न बाध्य हुने ? कानून सबैका लागि बराबर हो, केवल आफूलाई मात्र होइन।’













प्रतिक्रिया दिनुहोस्