जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार १४:५७

काठमाडौं उपत्यकामा अब राति ठुलाे स्वर गर्न नपाइने, बिहानै कुकरकाे  सिट्टी लगाउन पनि नपाइने 


काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ध्वनी, धुवाँ र फोहर प्रदूषण नियन्त्रण गरी सभ्य र शान्त समाज निर्माण गर्ने उद्देश्यले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालनमा ल्याएको छ ।

प्रहरीका अनुसार ध्वनि प्रदूषणका कारण विशेषगरी गर्भवती महिला, मुटु रोगी, वृद्ध-वृद्धा र बालबालिकाको शैक्षिक, मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । साथै, सामाजिक, आर्थिक गतिविधि, नैतिक मूल्य र पारिवारिक सम्बन्धहरूमा समेत यसले नकारात्मक असर पर्ने भएकाले यस अभियानलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

प्रहरीले नागरिकलाई घर–परिवार र छिमेकीको हितका लागि विभिन्न व्यवहारिक नियमहरू पालना गर्न अनुरोध गरेको छ । राति अनावश्यक हल्लाखल्ला नगर्न, अबेरसम्म ठुलो स्वरमा गफगाफ, गीत–सङ्गीत वा पार्टी नगर्न, टेलिभिजन वा सङ्गीत प्रणाली उच्च आवाजमा नचलाउन, भान्सामा भाँडाकुडा बजाएर आवाज ननिकाल्न, तथा राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगर्न  प्रहरीले आग्रह गरेकाे छ ।

यस्तै बिहानको शान्त वातावरण कायम राख्न अनावश्यक हल्ला नगर्न, सवारीसाधन स्टार्ट गर्दा ठुलो आवाज ननिकाल्न, शौचालय वा प्रेसर कुकर प्रयोग गर्दा ध्वनि नियन्त्रण गर्न, सडकमा अनावश्यक हल्ला नगर्न पनि प्नहरीले अनुराेध गरेकाे छ ।

सामाजिक तथा धार्मिक क्रियाकलापमा ध्वनि नियन्त्रण गर्न, पूजा–प्रार्थना शान्त तरिकाले गर्न, चुरोट वा फोहर जलाएर छिमेक प्रदूषित नगर्न, फोहर व्यवस्थापनमा सचेत रहन र छिमेकीसँग मिलेर नियमित सरसफाइ अभियान सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

प्रहरीका अनुसार, ध्वनि प्रदूषण वा अन्य अवरोधमूलक गतिविधि गर्ने व्यक्ति वा संस्थालाई कानुनअनुसार कारबाही गर्दै ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।

उल्लंघन गर्ने गतिविधि देखिएमा प्रहरी कन्ट्रोल १००, ट्राफिक कन्ट्रोल १०३ वा काठमाडौं उपत्यका प्रहरी कार्यालयका ९८५१२८३०२६, ९८५१२८३०२७ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

‘शान्त समाज, सभ्य समाजको पहिचान’ नारा दिँदै प्रहरीले सबै नागरिकलाई यस अभियानमा सहयाेग पुर्याउन आह्वान गरेको छ ।