जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार २०:५४

अर्ग्यानिक उत्पादन गर्न सकियो भने सबैलाई लाभ : शेरबहादुर देउवा


काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अर्ग्यानिक खेतीको राम्रो सम्भावना रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्ग्यानिक उत्पादनबाट राम्रो आम्दानी लिन सकिने बत्ताउनुभयो । ‘अर्ग्यानिक उत्पादनको माग बढेको छ, अर्ग्यानिक खेतीको लागि हामी अगाडि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।

देशभर मलको अभावले कृषकहरू पीडित भइरहेका  बताउँदै यसको दीर्घकालीन समाधान पनि नेपालमा अर्ग्यानिक मल उत्पादनमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँले रासायनिक मल महँगो हुने मात्र नभई भारतले समेत अन्य मुलुकबाट आयात गर्नुपर्ने भएकाले नेपाललाई पर्याप्त आपूर्ति गर्न नसकेको प्रष्ट पार्नुभयो।

‘भारतले त विदेशबाट मगाउँछ मल, हाम्रो देशमा कहाँबाट हुने ? भारतबाट मल किन्नुपर्छ हामीले, हामीसँग मल छैन, यो धेरै महँगो पनि हुन्छ, समयमा पाउँदैन पनि, सारा किसान दाजुभाइहरू मल नपाएर दुखित छन्’, उहाँले भन्नुभयो ।

उहाँले नेपालमै अर्ग्यानिक मल उत्पादन गरी कृषि उत्पादनलाई अर्ग्यानिक बनाउन सकियो भने सबैलाई फाइदा हुने बत्ताउनुभयो ।  यसले नेपालीलाई आत्मनिर्भर पनि बनाउने उहाँको दाबी छ ।

उहाँले कृषि उपजमा आत्मनिर्भर बन्ने लक्ष्यसहित किसानलाई अर्ग्यानिक खेतीतर्फ लाग्न आह्वान गर्नुभयो। उहाँको भनाइमा, विदेशी आपूर्तिमा मात्र भर पर्नु दीर्घकालीन हितमा नभएकाले अब स्वदेशी उत्पादनलाई प्राथमिकता दिनै पर्ने अवस्था आएको छ। ‘जे कुरामा पनि विदेशकै भर परियो भने भविष्यमा समस्या आउन सक्छ, त्यसैले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरको बाटोतर्फ अघि बढ्नु जरुरी छ,’ उहाँले भन्नुभयो ।