जनता टाइम्स

२१ भाद्र २०८२, शनिबार १६:२६

दशैँ नजिकिन लागेसँगै खाँडादेवीमा चहलपहल बढ्यो 


रामेछाप, भदौ २१ । साउन महिनाभरि सुनसान जस्तै देखिएको रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा दशैँ नजिकिन लागेसँगै दर्शनार्थीहरूको चहलपहल बढ्न लागेको छ ।

खाँडादेवीमा दर्शन गर्न तथा बलि र पञ्चबलि लिएर दर्शनार्थीहरु आउने क्रम भदौ महिना लागेसँगै सुरु भएको छ । यो क्रम अब बढ्दै गएर बडादशैँको नौरथा लागेपछि अधिक हुन खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

मन्दिरमा दर्शनार्थीहरूकाे चहलपहल बढेसँगै मन्दिर नजिकैका फूल र प्रसाद लगायत पूजा सामाग्रीका पसलहरूमा पनि मानिसहरूको चहलपहल देखिएको छ । मन्दिरमा पूजा गर्न आउने दर्शनार्थी बढेपछि फूल प्रसादका पसल तथा खाजाघरहरु पनि राम्रो चल्ने स्थानीय अनिता राईले बताउनुभयो । ‘दशैँको नौरथा लागेपछि दशैँ भरि त धानिनसक्नु भिड हुन्छ, त्यस पछि पनि अब हिँउदभरी दर्शनार्थीहरूको भिड नै हुन्छ, टाढा टाढाबाट मानिसहरू पूजा र बलि लिएर आउँछन्’, उहाँले भन्नुभयो ।

मन्दिरमा पञ्चवली तथा अन्य बलि लिएर आउनेहरूको लागि विकास कोषले शुल्क लिएर बलि पूजाको व्यवस्था मिलाएको खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले बताउनुभयो । अन्य दर्शनार्थीलाई भने मन्दिरमा निःशुल्क दर्शनको व्यवस्था गरिएको छ ।

दर्शनार्थीले मन्दिरमा दर्शन गर्दा चढाएको भेटी पनि कोषले सङ्कलन गरी कोषमा जम्मा गरेर पुजारी व्यवस्थापन, मन्दिरका सरसफाइ, फूलबारी व्यवस्थापन, प्रचारप्रसार, मन्दिर संरक्षणका साथै विभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ ।

खाँडादेवीलाई निक्कै पुरानो ऐतिहासिक मन्दिर मानिन्छ । यो मन्दिरमा किँरातकालदेखि नै पूजाआजा गर्दै आएको विश्वास गरिन्छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली ठानी विशेष पूजा गर्ने गर्दछन् ।

विसं १५७३ मा मन्दिरमा चढाइएको ठुलो घण्ट अहिले पनि सुरक्षित छ । त्यसअघि चढाइएका चाँदीका जन्तरलगायत गहना अहिले पनि सुरक्षित अवस्थामा छन् । दरबारबाट चढाइएका ती धरोहरहरूले खाँडादेवी मन्दिरको ऐतिहासिकता प्रमाणित गर्दछ ।