जनता टाइम्स

२१ भदौ २०८२, शनिबार १७:३६

वर्तमान सरकार दलाल र बिचौलियाको सरका, सहकारी ठगीमा पनि कांग्रेस–एमालेका नेता संलग्न : प्रचण्ड


पोखरा, भदौ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप लगाउनुभएको छ ।

शनिबार नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौँ र केन्द्रीय समितिको आठौँ बैठकमा बोल्दै उहाँले वर्तमान सरकार दलाल र बिचौलियाको योजना अनुसार बनेको बताउनुभयो । ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो, हिजो डरले बनेको हो, आज पनि डरले बचेको सरकार हो, कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन’, उहाँले भन्नुभयो ।

प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताउनुभयो । उहाँले माओवादी विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशा बोकेको पार्टी भएको दाबी गर्नुभयो ।

उहाँले पुँजीवादी अर्थतन्त्र र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका बताउनुभयो । माओवादी त्यसको वैकल्पिक शक्ति भएको उहाँको धारणा छ ।

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको उल्लेख उहाँले माओवादी मध्यम वर्गको प्रतिनिधि भएको बताउनुभयो । ‘ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो’, उहाँले भन्नुभयो ।

उहाँले सहकारी ठगीमा पनि कांग्रेस–एमालेकै नेताहरूको हात भएको बताउनुभयो । सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएका आरोप लगाउनुभयो ।