जनता टाइम्स

२१ भाद्र २०८२, शनिबार २२:१५

एमालेको दोस्रो विधान महाधिवेशन : समूह छलफलको प्रस्तुतिको लागि टोलिनेता छानिए, भाेलि प्रस्तुति हुने


काठमाडौं, भदौ २१ । नेकपा एमालेको दोस्रो विधान अधिवेशनको तेस्रो दिनको बैठक बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

शुक्रबार र शनिबार हलमा प्रस्तुत भएका प्रतिवेदन माथि शनिबार दिनभरि १० वटा समूहमा छलफल भएका नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । भोलि तिनै छलफलको निष्कर्ष टोली नेताहरूले प्रस्तुत गरेपछि पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गरेर विधान महाधिवेशन औपचारिक रूपमा सकिने छ ।

समूह छलफलमा पार्टीमा ७० वर्षे उमेर हदको सीमा हटाउनु पर्छ भन्ने धारणा सबै समूहबाट आएको उहाँले बताउनुभयो । त्यस्तै पार्टीमा दुई खालका सदस्यताको कुरामा पनि सबै समूहमा सहमति जुटेको गौतमले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु हुँदैन भन्ने कुरा पनि सबै समूहमा सशक्त रूपमा उठेको उहाँले बताउनुभयो ।

समूहले तयार गरेको छलफलको निष्कर्ष प्रस्तुत गर्न कोशीबाट पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा टोलिने ता छानिनु भएको छ । त्यस्तै मधेसबाट सो प्रदेशका पार्टी अध्यक्ष चण्डेश्वर मण्डल, वाग्मतीबाट प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, कर्णाली समूहबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, सुदूरपश्चिमबाट त्यहाँका पार्टी अध्यक्ष कृष्णप्रसाद जैसी, लुम्बिनीबाट त्यहाँका पार्टी अध्यक्ष राधाकृष्ण कँडेल र गण्डकीको टोलिनेताका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ छानिनु भएको छ ।

सल्लाहकार आयोजकको तर्फबाट चूडामणि जङ्गली, गैरभौगोलिक, जनसंगठनहरु लगायतको तर्फबाट भक्त गुरुङ, केन्द्रीय निकाय र  आयोजकको तर्फबाट शिव अधिकारीले भोलिको बैठकमा सुझाव प्रस्तुत गर्ने तयारी गर्नुभएको गौतमले बताउनुभयो ।

भोलि ८ बजेबाट प्रस्तुतिको क्रम सुरु हुने उहाँले जानकारी दिनुभयो ।