जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार ०६:४८

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, नेपालबाट देख्न सकिने 


काठमाडौँ, भदाै २२ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार अर्थात् आज राति नेपाललगायत दक्षिण एसियाका विभिन्न मुलुकबाट खग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ।

 नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार यसपटकको ग्रहण सुरुदेखि अन्त्यसम्म देखिने भएकाले खगोल अध्ययनका लागि दुर्लभ अवसर बन्नेछ। समितिले सार्वजनिक गरेको विवरणअनुसार राति १०ः११ बजे ग्रहणको स्पर्श हुनेछ भने ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। खग्रास अवस्था मात्र १ घण्टा २३ मिनेट रहने भए पनि सम्पूर्ण ग्रहणको अवधि ३ घण्टा ३० मिनेट रहनेछ। मौसम अनुकूल भए मुलुकभरिबाट नै यसलाई प्रत्यक्ष अवलोकन गर्न सकिने छ।

ज्योतिषशास्त्रअनुसार ग्रहणले मानिसको राशि अनुसार फरक–फरक प्रभाव पार्ने विश्वास रहँदै आएको छ।  हिन्दू धार्मिक परम्पराअनुसार ग्रहण सुरु हुनु अघि नै सुतक लाग्ने विश्वास छ। आज दिउँसो १ः११ बजेदेखि सुतक सुरु हुने  बताइएकाे छ ।

ग्रहण अवधिमा मन्त्रजप, हवन, दान–पुण्य जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य नगर्न धार्मिक ग्रन्थहरूमा  उल्लेख छ।

खगोलविद्हरूका अनुसार चन्द्रग्रहण प्राकृतिक प्रक्रिया हो जसमा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ। यसले मानिस वा प्रकृतिमा कुनै नकारात्मक असर नगर्ने वैज्ञानिकहरु बताउँछन् । बरु यो खगोलप्रेमी र विद्यार्थीका लागि अध्ययन तथा अनुसन्धानको महत्वपूर्ण अवसर बन्ने उनीहरूको भनाइ छ।