काठमाडौं, भदौ २३। जेन-जी पुस्ताको प्रदर्शनप्रति प्रहरीले गरेको दमनप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले निन्दा र भर्त्सना गरेको छ।
साेमबार भएको शान्तिपूर्ण प्रदर्शन केही समयमै नरसंहारमा परिणत भएको भन्दै अनेरास्ववियुले गहिरो आक्रोश प्रकट गरेको हो । अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा विद्यार्थीमाथि भएको निर्मम आक्रमणले संगठन मर्माहित भएको उल्लेख गर्दै जिम्मेवार निकायका पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको छ। साथै, उच्चस्तरीय छानबिन समिति गठन गरी निर्दोष बालबालिकाको हत्या गर्ने जो कोहीलाई पनि कडा कारबाहीको दायरामा ल्याउनुपर्ने अनेरास्ववियुको जोडदार माग छ।
अनेरास्ववियुले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
यस घटनाप्रति शोक प्रकट गर्दै अनेरास्ववियुले आफ्नो संगठनको झण्डा एक हप्तासम्म आधा झुकाएर राख्ने निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।














प्रतिक्रिया दिनुहोस्