रामेछाप, भदाै २५। रामेछाप जिल्लामा गए राति जारी गरिएको कर्फ्यू आदेशलाई लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप नगरपालिकाभित्रका संवेदनशील क्षेत्रमा पुनः कर्फ्यू लागू गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले गए राति १० बजेदेखि बिहान ६ बजेसम्म लागू गरिएको कर्फ्यू आदेशलाई थप ६ घण्टासम्म विस्तार गर्नुभएको हो। जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नघटियोस् भन्ने उद्देश्यले कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार तोकिएका क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा अन्य कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ।
कर्फ्यू आदेशअनुसार मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ मन्थली र रामेछाप नगरपालिकाको सीमास्थित सुकाजोर खोला पुल अर्थात् बिटारसम्मको क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै, मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्मको आवतजावत रोकिएको छ। मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको छ भने रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्र समेत आदेशमा समेटिएको छ।
यसअघि गए राति १० बजेदेखि बिहान ६ बजेसम्म सोही क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो। तर अवस्था संवेदनशील रहन सक्ने आकलनसहित प्रशासनले फेरि आदेश थप गरेको हो। प्रमुख जिल्ला अधिकारी थापाले आवश्यकताअनुसार सुरक्षा संवेदनशीलता कायम गर्न कर्फ्यूलाई निरन्तरता दिनुपरेको बताउनुभएको छ।
प्रशासनले तोकिएको समय र क्षेत्रभित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, नागरिकलाई संयमित रहन र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरिएको छ।














प्रतिक्रिया दिनुहोस्