काठमाडौं, भदौ २५ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अहिले इतिहासकै गम्भीर संकटमा रहेको बताउनुभएको छ। उहाँले हालको राजनीतिक र सामाजिक अस्थिरतालाई मध्यनजर गर्दै संयमित र विवेकपूर्ण निर्णय लिन सबैमा आग्रह गर्नुभएको छ।
भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो वक्तव्यमा आगामी दिनमा पार्टी र देशको नेतृत्व तथा संगठन पुनर्गठन गर्दै एकता कायम गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। उहाँले जनतासँग संवाद कायम गर्दै लोकतान्त्रिक मूल्य, संविधानको सर्वोच्चता, मानवअधिकार र प्रेस स्वतन्त्रतालाई आधार बनाएर निर्णय गर्नुपर्ने बताउनुएकाे छ ।
उहाँले विकसित घटनाहरूको विश्लेषण गरी पार्टीभित्र भएका कमजोरीको आत्मावलोकन गर्नु आवश्यक रहेको उल्लेख गर्नु भएको छ। पार्टी संगठन र नेतृत्वलाई नयाँ ढङ्गले पुनर्गठन गर्दै आम सदस्यहरूको सहभागिता र अपनत्व सुनिश्चित गर्नुपर्ने उहाँको धारण छ। आन्तरिक प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र लोकतान्त्रिक बनाउँदै जनतालाई सुनी निर्णय लिनुपर्ने उहाँले स्पष्ट पार्नु भएको छ।
भट्टराईले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता र कानुनको शासन जस्ता मूल्यहरूको रक्षा गर्दै देशको पुनर्निर्माणका लागि सबै हितकारी पक्षसँग समन्वय गर्नुपर्ने जोड दिनुभएको छ। उहाँले हिमाल, पहाड र तराईका सबै जात, जाति र भाषीबिच एकता बलियो बनाउँदै आन्तरिक सहमति र संवैधानिक मूल्य अनुसार देशलाई निकास दिनुपर्ने बताउनुभएको छ ।
उहाँले ZEN-G समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन गर्नुपर्ने र कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘नेपाल बचाऔँ, नेपालीत्व जोगाऔँ’ भन्ने मूल लक्ष्यलाई सधैँ ध्यानमा राख्दै काम गर्नु पर्ने आवश्यकता भट्टराईले औँल्याउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्