काठमाडौं, भदौ ३० । गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाडौंसहित अरू ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको हो । हाल बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णालीशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र वाग्मतीको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको छ । महाशाखाका अनुसार अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।













प्रतिक्रिया दिनुहोस्