विराटनगर, भदौ ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जेड आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको मुख्यमन्त्री कार्यालयको आज अनुगमन गर्नुभयो।
अनुगमनपछि प्रदेश सरकारका सचिव र उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुर्याएको बताउनुभयो। उहाँले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाउन निर्देशन दिनुभयो।
देशमा विषम परिस्थिति आइपरेको उल्लेख गर्दै उहाँले यस्ता कठिन अवस्थाको सामना गर्दै काममा निरन्तरता दिन आग्रह गर्नुभयो। घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको रूपमा चित्रण गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठूलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन, यो घटनाले प्रदेशलाई ठूलो नोक्सान पुर्याएको छ, यसले हामीलाई २० वर्ष पछाडि धकेलेको छ।’
उहाँले आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषदको बैठक बसेर थप निर्णय हुने जानकारी दिनुभयो।
छलफलमा प्रदेशका सचिवहरूले मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै बाँकी रहेको अवस्थाबाटै केही दिनभित्र सेवा सुचारु गर्ने जानकारी दिएका थिए। कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी दिनुभएको थियो।
यसैबीच, भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोशी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक विवरण प्रदेश सरकारले संकलन गरेको छ।
प्रदेश सरकारका अनुसार आन्दोलनका क्रममा प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त भएका छन्। जसमध्ये १८ वटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने २४ वटामा आंशिक क्षति पुगेको छ।
त्यस्तै, आन्दोलनकारीहरूले प्रदेश सरकार मातहतका २ सय ३७ वटा सवारी साधनमा क्षति पुर्याएका छन्। जसमध्ये ७५ वटा चारपाङ्ग्रे सवारी साधन क्षतिग्रस्त भएका छन्। तीमध्ये ६४ वटा पूर्णरूपमा नष्ट भएका छन् भने ११ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्।
यसैगरी, १ सय ६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ। तीमध्ये १ सय ४४ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति भएको प्रदेश सरकारको प्रारम्भिक विवरणमा उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्