जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार ०९:२३

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस : त्याग, साहस र नेतृत्वको स्मरण


काठमाडौं, असोज २। प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च ‘कमान्डर’ तथा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ।

नेपाली राजनीतिमा आफ्नो जीवन अर्पण गर्दै उहाँले देखाउनुभएको अदम्य साहस, उच्च नैतिक आदर्श र जनप्रतिबद्धताको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको छ। वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनलाई विजयतर्फ डोर्‍याउने क्रममा सर्वोच्च नेतृत्व सम्हाल्नुभएका सिंहलाई तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सारेर राजनीतिमा त्यागको अनुपम दृष्टान्त प्रस्तुत गर्नुभएको थियो। यो निर्णयले उहाँको महान नेतृत्व क्षमता र लोकतान्त्रिक मूल्यप्रति अटूट निष्ठा प्रष्ट्याएको थियो।

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका सिंहले प्रारम्भिक दिनदेखि नै राणा शासनविरुद्धको संघर्षमा आफ्नो युवावस्था समर्पण गर्नुभएको थियो। प्रजा परिषद् सदस्यका रूपमा सक्रिय रहँदा जेल जीवन व्यतित गर्नुपरे पनि उहाँले असाधारण साहस प्रदर्शन गर्दै भद्रगोल जेल फोडेर स्वतन्त्रताको बाटो रोज्नुभएको थियो। त्यसपछि भारत पुगेपछि उहाँले बिपी कोइरालासँग निकट राजनीतिक सम्बन्ध विकसित गर्नुभयो र नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र विस्तारमा अग्रणी योगदान दिनुभयो।

वि.सं. २००७ सालको ऐतिहासिक क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गर्दै उहाँले प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्नुभयो। त्यसयता नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक चरणमा उहाँ अग्रपंक्तिमा रहनुभयो। वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारले उहाँलाई वरिष्ठ मन्त्रीको जिम्मेवारी दिएको थियो। तर, वि.सं. २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष लामो कारावास जीवन बिताउन उहाँ बाध्य हुनुभयो।

पुनः स्वतन्त्र भएपछि पनि उहाँले जीवन देश र जनताप्रतिको समर्पणमै बिताउनुभयो। बिपी कोइरालासँग मिलेर ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ लिँदै स्वदेश फर्केका सिंहले पञ्चायती व्यवस्थाविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि २०४२ सालको सत्याग्रह र अन्ततः २०४६ सालको जनआन्दोलनसम्म उहाँको अदम्य साहस र रणनीतिक क्षमताले लोकतन्त्रलाई पुनःस्थापित गर्न मार्गप्रशस्त गर्‍यो।

नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन जीवनभर समर्पित सिंह बिपी कोइरालाका नजिकका अनुयायी मात्र नभई कांग्रेसभित्र सर्वमान्य नेताका रूपमा स्थापित हुनुभएको थियो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेसले कम्युनिष्टहरूसँग मिलेर पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको घोषणा गरेको थियो, जसको सर्वोच्च ‘कमान्डर’का रूपमा सिंहले ऐतिहासिक जिम्मेवारी बहन गर्नुभएको थियो।

वि.सं. १९९७ देखि अनवरत राजनीतिमा समर्पित रहनुभएका सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो। गणेशमान सिंहको जीवनयात्रा केवल एक नेताको कथा मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास हो। उहाँले देखाउनुभएको त्याग, उच्च आदर्श र संघर्षप्रतिको दृढता आज पनि नेपाली राजनीतिलाई मार्गदर्शन गर्ने प्रेरणाको स्रोत बनेको छ।