काठमाडौं, असोज २ । जेन–जी आन्दोलनका क्रममा कर्णाली प्रदेशसभा भवन पूर्ण रूपमा ध्वस्त भएको छ। भदौ २४ गते आन्दोलनकारीहरूले प्रदेशसभालाई कब्जामा लिएर तोडफोड र आगजनी गर्दा सभामुखदेखि समितिका कक्षसम्म कुनै संरचना बाँकी नरहेको सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयको प्रारम्भिक मूल्याङ्कनअनुसार मात्रै तीन करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको क्षति भएको छ। यसमध्ये सबैभन्दा बढी दुई करोड २० लाख २० हजार ३ सय रुपैयाँ बराबरको क्षति भवनतर्फ पुगेको छ। भवन तथा कोठाहरूमा एक करोड ६ लाख ५७ हजार ४ सय ९० रुपैयाँ, फर्निचर तथा चित्रकलाका सामग्रीतर्फ ५३ लाख ९८ हजार ८१२ रुपैयाँ, सवारी साधनतर्फ चार लाख २८ हजार ९०० रुपैयाँ र अन्य जिन्सी सामानतर्फ नौ लाख १० हजार ८ सय ९२ रुपैयाँ बराबरको क्षति भएको सचिवालयले जनाएकाे छ ।
प्रदेशसभा भवनभित्र रहेका दुई मोटरसाइकल र एक स्कुटर जलेर नष्ट भएका छन् भने परिसरमा पार्किङ गरिएको हुम्लाको सिमीकोट गाउँपालिकाको एम्बुलेन्स समेत जलेको छ। आन्दोलनकारीहरूले सभामुख, उपसभामुख, दलका नेताहरूको कार्यकक्ष, विषयगत समितिका बैठक कक्ष, संसदीय दल कार्यालयदेखि बैठक भवनसम्म आगजनी र तोडफोड गरेका थिए।
आगजनीका कारण प्रदेशसभा बैठक कक्ष पूर्ण रूपमा प्रयोगयोग्य नरहेको र पुनर्निर्माण नगरी बैठक सञ्चालन गर्न नसकिने अवस्था आएको सचिवालयले जनाएको छ। बैठक भवनमा रहेका दर्शकदीर्घा, रेकर्ड तथा प्रसारण कक्ष समेत नष्ट भएका छन्। प्रत्यक्ष प्रसारणका लागि जडान गरिएको कन्ट्रोल रुममा समेत आगो लगाइएकाले हालसम्मका प्रदेशसभा बैठकका सम्पूर्ण रेकर्ड नष्ट भएका छन्।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार सभाका कुनै पनि अभिलेख र सामग्री बाँकी नरहेको अवस्थामा हालसम्मका सबै बैठकका कार्यवृत्त पनि जलेर नष्ट भएका छन्। कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको इन्जिनियरिङ टोलीले प्रदेशसभामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको र अहिलेसम्मको प्रारम्भिक विवरण बाहेक क्षतिको परिमाण अझ बढ्न सक्ने बताइएको छ।













प्रतिक्रिया दिनुहोस्