जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार १३:२०

सुनसरीको लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ भन्दा बढी घाइते


विराटनगर,असाेज २। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।

सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले बिग्रिएर सडक छेउमा रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना बारे सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घाइतेमध्ये करिब २२ जनालाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा करिब ३५–४० वर्षका एक पुरुषको मृत्यु भएको छ जसको नाम थर खुल्न बाँकी रहेको छ । यस्तै सिराहा सखुवान्नकट्टी गाउँपालिका–३ की करिब ४५ वर्षीया धनेश्वरी देवी यादवको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ ।

घाइतेमध्ये केहीलाई सामान्य उपचारपछि गोल्डेन अस्पताल विराटनगरमा पठाइएको छ । उनीहरूमध्ये सप्तरी, सिराहा र धनगढीमाई नगरपालिकाका बासिन्दा बढी छन् । केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरू आइसियुमा उपचाररत रहेको प्रहरी प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।