विराटनगर, असोज २ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा सकारात्मक साेचका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ ।
नेकपा एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै उहाँले भदौ २४ गते भएको आन्दोलन जेनजेडको मात्रै नभई विभिन्न स्वार्थ समूहले सञ्चालन गरेको आन्दोलन भएको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनकाे नाममा नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै जेनजेडले उठाएका भ्रष्टाचारविरोधी मागप्रति एमाले निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । “पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,” उहाँले भन्नुभयो ।

कार्कीले एमाले सरकारमा रहँदा विकासका काम भएको दाबी गर्दै प्राकृतिक सम्पदामाथि भइरहेको आक्रमणबारे चिन्ता व्यक्त गर्नुभयो । उहाँले स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत रहनुपर्नेमा जोड दिँदै संविधान मास्ने प्रयासले मुलुकलाई अस्थिरतामा धकेल्ने खतरा रहेको र त्यसलाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरिले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्व समयसापेक्ष सच्चिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भेलामा सहभागिहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति मौलाएको र कसैले पनि गल्ती स्वीकार नगरेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतका नेताहरूले पनि मन्तव्य राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्