जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार १०:५१

आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढौँ : हिक्मतकुमार कार्की  


विराटनगर, असोज ३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएको उल्लेख गर्दै यसको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो। संविधान दिवसकाे अवसरमा उहाँले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत श्रद्धाञ्जली प्रकट गर्नुभयो।

संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गर्दै भ्रष्टाचार निवारणमा लागिपरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताउनुभयो।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ।

संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो।